
जुम्ला । जुम्लामा १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जुम्लामा पीसीआर परीक्षणबाट सुरक्षाकर्मीसहित १९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।
क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइन राखिएको स्थल कर्णाली प्राविधिक शिक्षालयलाई स्थानीय प्रशासनले सिल गर्ने तयारी गरिरहेको छ ।
यस्तै भारत र जिल्ला बाहिरबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना बस्ने स्थान नभएर गाउँ पसेका छन् ।
क्वारेन्टाइन व्यवस्थापन नहुँदा भारतबाट आएका सिधै गाउँ छिरेका हुन् । उनीहरु गाउँ छिरेपछि जुम्लामा त्रास फैलिएको छ ।
राख्ने स्थान नभएर अन्यौल भइरहेको बेलामा बसपार्कमा त्यसै अलपत्र परेका उनीहरु त्यहाँबाट हिँडेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
स्थानीयको विरोधका कारण तोकिएको स्थानमा सरकारी संरचनाहरुमा राख्न नसकेपछि क्वारेन्टाइन कता बनाउने भन्ने अन्यौल भएको हो ।
प्रतिक्रिया दिनुहोस्