१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


हेलो ब्रदर्स र ब्लड डोनर्स एसोसिएसनद्वारा रक्तदान कार्यक्रम


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, जेठ १७ । बन्दाबन्दी लम्बिँदै जाँदा अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ ।

बिरामीहरुलाई रगत अभाव नहोस् भनेर विभिन्न संघ–संस्थाहरुले अहिलेको विषम परिस्थितिमा पनि रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सामान्यतया अस्पतालमा भर्ना भएका बिरामीहरुको रगत अभावैले अकालमै ज्यान जाने घटना बेलाबखत बाहिरिने गर्दछ ।

रक्तदान कार्यक्रममार्फत् नै रगत संकलन हुँदै आएपनि बन्दाबन्दीले सहर सुनसान हुँदा उक्त कार्यक्रमहरु प्रभावकारी हुन सकेका छैनन् ।

यस्तो विषम परिस्थितिमा पनि रगत अभाव हुन नदिन विभिन्न संघ–संस्थाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

हेलो ब्रदर्स र ब्लड डोनर्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा ललितपुर, सानेपामा रक्तदान कार्यक्रम गरिएको छ ।

बन्दाबन्दीले ब्लड बैंकमा रगत अभाव हुँदा यसको प्रत्यक्ष प्रभाव उपचाररत् बिरामीमा नपरोस् भनेर अहिलेको कठिन घडीमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको हेलो ब्रदर्सकी संयोजक शान्ति महर्जन बताउँछिन् ।

आकस्मिक रक्तदानमा १८ वर्षदेखि ६५ वर्षबीच उमेर समूहका १२० भन्दा बढीले रक्तदान गरेका थिए ।

‘लकडाउन’ले रगत अभाव हुने भन्दै एसोसिएसनले काठमाडौं, भक्तपुर र ललितपुरमा रक्तदान क्याम्प कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ब्लड डोनर्स एसोसिएसनले भक्तपुर ब्लड बैंकको सहकार्यमा हालसम्म छ हजार बढी पिन रगत संकलन गरी बुझाइएको एसोसिएसनका काठमाडौं सचिव अनिलरत्न तुलाधार बताउँछन् ।

यता, रक्तदान गर्न पुगेका गर्न पुगेका रक्तदाता भने बन्दाबन्दीको विषम परिस्थितिमा पनि रगत दान गर्न पाउँदा खुसी भएको र सबैले गर्नुपर्ने धारणा राख्छन् ।

बन्दाबन्दीले ब्लड बैंकहरुमा रगत नै अभाव हुनुले बिरामीको अकालमै ज्यान जानसक्छ । त्यसैलेपनि रगत अभाव हुन नदिन कोरोनाबाट सतर्कता अपनाउँदै रक्तदान कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक देखिन्छ ।

भिडियो हेर्नुहोस्