२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


पेट्रोलियम पाइपलाइन बनाउन भारतसँग जिटुजीको तयारी


390
Shares

काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर भारतबाट पाइपमार्फत डिजेल आयात भैरहेको अवस्थामा सरकारले थप दुई वटा पेट्रोलियम पाइलाइन परियोजना निर्माण गर्न भारतसँग जिटुजी (सरकार–सरकारबीच सम्झौता) गर्ने तयारी गरेको छ ।

अमलेखगन्जसम्म आएको पाइपलाई चितवनको लोथर र भारतको सिलुगुढीबाट पूर्वी नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणका लागि नेपाल र भारतबीच जिटुजी गर्न लागिएको हो। यी दुई परियोजनाको लागत करिब २७ अर्ब रूपैयाँ रहेको छ ।

जिटुजी गर्नका लागि भारत सरकारले प्रारम्भिक मस्यौदा पठाइसकेको छ। मस्यौदाको बारेमा आवस्यक सुझाव दिएर परराष्ट्र मन्त्रालय मार्फत भारत पठाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव राधिका अर्यालले बताइन् । ‘पेट्रोलियम पाइपलाइन निर्माणमा भारतसँग जिटुजी गर्ने प्रक्रिया अघि बढेको छ,’ सहसचिव अर्यालले भनिन्– ‘दुवैतर्फबाट मस्यौदालाई अन्तिम रूप दिएपछि सम्झौता हुन्छ ।’

इण्डियन आयल कर्पोरेसन(आइओसी) र नेपाल आयल निगमका अधिकारीले पाइपलाइनको अध्ययन गरेर सञ्चालन गर्न उपयुक्त भएको ठहर गरेपछि सरकारी स्तरबाट पाइपलाइन निर्माणका लागि छलफल हुँदै आएको थियो । नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप (सहसचिवस्तरीय) बैठकले पनि पाइपलाइनको निर्माण गर्ने सैद्धान्तिक सहमति गरिसकेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।