
लक्ष्मी शर्माले दक्षिण एशियाकै पहिलो महिला टेम्पो चालकको ईतिहास त बनाएकी छिन नै,उनले महिला उद्यमीको रुपमा पनि आफ्नो नाम उजिल्याएकी छिन् । निरन्तरको संघर्ष र मेहनतले मानिसलाई सफल बनाउँछ भन्ने उदाहरण बनेकि छिन् लक्ष्मी शर्मा ।
त्यसदिन लक्ष्मी शर्मा टेम्पो चलाएर चाबहिलस्थित गोपीकृष्णको उकालोमा अगाडि बढिरहेकी थिइन् । अचानक टेम्पो बिग्रियो । टेम्पोसँगै विश्राम मारिरहँदा उनको दृश्य जनावरको सिनो लुछिरहेका गिद्धमा पर्यो। गिद्धहरु तँछामछाड गर्दै जनावरको सिनो तानिरहेका थिए । त्यो दृश्य आँखा अगाडि देखेकी उनले अन्तरमनसँगै प्रश्न गरिन– जनावरको हड्डी र सिङको प्रयोग गरी घरेलु उद्यम पो चलाउन सकिन्छ कि ? हड्डी र सिङबाट टाँक बन्छ भन्ने बारे कहीँ कतै उनले सुनेकी थिइन । नेपालको मात्रै नभएर दक्षिण एशियाकै पहिलो टेम्पो चालकको रेकर्ड इतिहासलाई बुझाएर उनी उद्यमको बाटोमा लागिन । लक्ष्मीले रेकर्डका लागि नभएर हातमुख जोर्न टेम्पोको स्टेयरिङमा हात पुर्याएकी थिइन । उनले बिग्रिएकै टेम्पोमा बसेर उद्यमी बन्ने निधो गरिन ।

आफूलाई जन्मदिने आमाको कोठा उपयोग गरेर थालिन कर्मको नयाँ बीउ रोप्न । उनले कहीँ कतै सुनेकी थिइन, शुभ काममा ढिलाई किन भनेर ? त्यसपछि उनले कसैलाई भनेर खोलामा छरिएका हड्डी घर ल्याउन अहृाइन। तर दुर्गन्धले बसिनसक्नु भयो । दुर्गन्धभन्दा उनको इच्छाशक्ति प्रबल थियो, त्यसैले दायाँ बायाँ नहेरी अगाडि बढिन । कसले के भन्छ भन्ने न डर थियो, न त्रास । उनी आफ्नो संकल्पमा आत्मविश्वासका साथ अघि बढिन् । छोरा नपाएको निहुँमा पतिबाट अपहेलनामा पेरकी तिनै लक्ष्मी देश विदेशकै एउटी प्रतिष्ठित उद्यमी बन्न सफल भइन् । लक्ष्मीले जीवनको लय पक्रिन के गरिन भन्दा पनि के गरिनन् भन्ने हो । विहेको परिभाषा नबुझ्दै १३ वर्षको उमेरमा बेहुली बनेकी लक्ष्मीका लागि सम्पूर्ण जीवन अग्नि परीक्षामै वित्यो भन्दा पनि हुन्छ । पतिले छोडेपछि उनमा माइतीको शरणमा पुगेर तीन छोरीको लालनपालन र पठनपाठनको दायित्व निर्वाह गर्ने जिम्मेवारी छँदै थियो । विहे गरेर पराईलाई जिम्मा दिएर पठाइएकी छोरी फर्किएर आएपछि माइतीले भोग्नुपरेको मनोवैज्ञानिक र सामाजिक दबाबको अवस्था सम्झँदा पनि उनी भावुक हुन्छिन् । वास्तवमा यो पीडा थियो । आँसु सकिएर भावशून्य अवस्था गुजार्न बाध्य थिइन उनी । जन्म दिने आमाले छोरीलाई कडिकडाउकासाथ भनिदिनुभयो– ‘बास दिन्छु । बाँकी सबै आफैं मिलाउनु ।’ यो क्षण उनलाई सम्पूर्ण आकासले थिचेझैं भएको थियो ।

संस्कारयुक्त घरपरिवारमा हुर्किएकी लक्ष्मी टेम्पो ड्राइभर कसरी भइन ? यसको आफ्नै अन्तर कथा छ । आमाले माइतीघरबाट बासबाहेक अन्य सहयोग नआउने उर्दी लगाएपछि उनले सानिमासँग ८ हजार ऋण काढिन । अनि शुरु भयो संघर्षको महायात्रा । सानैमा साइकल चलाएर हिड्ने लक्ष्मीले ३६ प्रतिशत व्याजमा लिएको पैसाले थोत्रो टेम्पो किनिन् र आफूले सिकेको मिस्त्रीको कामलाई टेम्पो मर्मत गर्न प्रयोग गरि चलाउन सुरु गरिन् । जुन समय हाम्रो समाजले महिला भनेको घरभित्रको कामकाजलाई मात्रै हो भन्ने गथ्र्याे । तर उनी त्यही समय पुरुष सरह टेम्पो चालक बनिन् । अनि लक्ष्मीले नेपाल मात्र नभएर दक्षिण एशियाकै पहिलो महिला टेम्पो चालकको ईतिहास रचिन् । टेम्पो गुडाउँदा धेरै पटक असुरक्षित महसुस भयो, डर लागेनी देखाउन सक्ने अधिकार उनमा थिएन् । लक्ष्मीलाई लोभी नजर लगाउने कयौं थिए ।
तर आफ्नो नैतिकताबाट लक्ष्मी कहिल्यै बिचलित भईनन् । धेरैपटक यस्ता घटना आइलागे जसमा लक्ष्मी जाईलागिन त्यसको प्रमाण लक्ष्मीसँग अझै छ । नजिकको मिल्ने साथीले पनि आफ्नो श्रीमान नजिक होला कि भन्दै गरेको व्यवहारले लक्ष्मीलाई पीडा दियो । ख्याल– ख्यालमा नै लक्ष्मी दिदी ५ वटा टेम्पोको मालिक बनिन्, आफूले विभिन्न हण्डर खाईन तर छोरीहरुहरुलाई त्यसको महसुस नगरी पालन पोषण गरिन् । अनि आफ्नो भविष्यको बलियो आधार तीनै जना छोरीलाई पालनपोषन अनि पढाईमा कुनै कमी हुन दिइनन् । ती छोरीहरुलाई देखेर उनी आज गौरवान्वित भएको बताउँछिन् । छोरीहरुकै आग्रहमा उनले टेम्पो चलाउन छोडिन् ।
एक दिन उनको छोरीलाई विद्यालयमा यसको आमा टेम्पो चालक भनेर खिल्ली उडाएछन्, यो कुरा छोरीले सुनाएपछि छोरीकै आग्रहमा टेम्पो चलाउन छोडिन् । उमेरमै एक्लो हुदा कयौपटक आत्महत्या गरौकि भन्ने लक्ष्मीलाई नलागेको भने होइन् । तर आफ्नो छोरीहरुका कारण उनमा त्यस्तो गर्ने आँट आएन बरु तीनै सन्तानलाई हेरेर बाँच्ने साहस बटुलिन् । ‘सन्तानकै लागि कसैको साथ खोज्न सकिन, सन्तानकै कारण कसैको काधमा टाउको राखेर रुन सकिन’ भन्दै निकै भावुक बनेर केहीबेर लक्ष्मीले आँखाबाट आँशु झारिन् । जीवनमा निकै दुःख र सास्ती व्यहोरेकी उनले आमाकै घरमा लक्ष्मी उड काफ्ट कम्पनीको स्थापना गरिन, जहाँ जनावरका अस्तिपञ्जर अनि काठका साम्रगी आफै डिजाइन गरि बनाउन थालिन् । विस्तारै समय वित्दै जाँदा विस्तारै उनी व्यवसायमा सफल पनि बन्दै गइन् । शुरुमा ८ हजार रुपैयाँबाट संचालन भएको उनको उद्योग पछि करोडमा बदलियो । धेरैलाई रोजगारी दिन थालिन् । काडमाडौंको मुटु मानिने महाराजगञ्जमा ५ रोपनी जग्गाामा उनले उद्योग स्थापना गरिन् ।
समाजमा संघर्षशीलता र उर्जाका लागि एउटा बलियो उदारहण बनेकी छिन लक्ष्मी शर्मा अर्थात लक्ष्मी दिदी । लक्ष्यमा अडिग रहेर नआत्ति र नमात्ति गरेको काम सफल अवश्य हुन्छ भन्ने विश्वासले नै यो स्थानमा पुर्याएको लक्ष्मी दिदीको भनार्य छ । सात हजार भन्दा बढी प्रकारका साम्रगी उत्पादन हुने लक्ष्मी दिदीले संचालन गरेको उद्योगको सामान खपत चै प्राय विदेशमा नै हुने गर्दछ । कमलो मन भएकै कारण धेरैले आर्थिक हिनामिना गरेको तितो अनुभवपनि लक्ष्मीसँग छ । सामाजिक सेवामा पनि त्यत्तिकै अग्रसर लक्ष्मी दिदीको जनावरप्रति पनि त्यत्तिकै स्नेह छ । उनले घरमा १४ वटा कुकुर पालेकि छिन् । उमेरले ७३ बर्ष पुगेपनि लक्ष्मी दिदिमा जोशजागर भने युवाको जस्तै छ । उनका तीन छोरी मध्ये २ जना विदेश छन् भने एक जना आफूसँग रहेपनि काममा भने छोरीको साथ छैन ।
लक्ष्मी दिदीको संघर्षशील जीवन भोगाई र सफलता सबैका लागि उदाहरण बनेको छ । लक्ष्मी दिदीको जीवन भोगाई कतिपयलाई काल्पनिकता लागेपछि उनको यथार्थ यही हो । उनको आँट,साहस र धैर्यतालाई आत्मसाथ गर्ने हो भने मानिस जीवनमा सधै सफल बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्