Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


बलात्कार, हत्या र जातीय विभेदका घटनाका दोषीलाई कारबाही गर्न आयोगको आग्रह


39
Shares

काठमाडौं, जेठ १६ । राष्ट्रिय मानवअधिकार आयोगले शृंखलाबद्धरूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी यस्ता घटनाको शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराइले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा विगत केही समययता शृंखलाबद्धरूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी दोषीलाई कारबाही गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको हो ।

आयोगले रुपन्देही जिल्ला देवदह नगरपालिका–११ की १३ वर्षीया बालिकामाथि यही जेठ ९ र १० गते भएको भनिएको बलात्कार घटना र उनको शंकास्पद मृत्युप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त घटनापश्चात् दोषीलाई कानुनी कारबाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधिसमेतको रोहवरमा बलात्कारका आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाएपछि अन्तरजातीय भन्दै बालिकालाई घर भित्रिन नदिएपश्चात् भएको निज बालिका अङ्गिरा पासीको शंकास्पद मृत्युका सम्बन्धमा आयोगको प्रदेश कार्यालय बुटवलले स्थलगत अनुगमन गरेको छ ।

छुवाछूत तथा भेदभावविरुद्धको हक तथा सबै प्रकारका भेदभावविरुद्धको महासन्धि १९७९ विपरीत भएकाले बलात्कारका आरोपितका साथ लगाइ बालिकालाई आरोपितको घर पठाउनेहरु उपरसमेत निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

समाजमा शृंखलाबद्धरूपमा भइरहेका यसप्रकारका घटना बालअधिकार, जातीय विभेदविरुद्धको अधिकार र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्नेगरी व्यवस्था गरिएको नेपालको संविधानले बालबालिकाको बाँच्न पाउने हकको सुनिश्चित गरेको भएपनि पछिल्लो दिनमा यस्ता घटना भइरहेका विज्ञप्तिमा जनाइएको छ । रासस

Skip This