३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


वामदलहरुबीच चुनावी तालमेलको सम्भावना कति ?


2.964k
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । दलहरु एकतातिर मतदातालाई आफुतिर तान्न लागिपरेका छन् भने अर्कातिर चुनावी गठबन्धनको प्रयासलाई उत्तिकै प्राथमिकता दिएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेपनि अझै वामदलहरुबीच तालमेलको सम्भावना अन्त्य भईनसकेको कतिपयको जिकिर छ ।

सत्तागठबन्धनबीच आसन्न निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय भएपनि झण्डै तीन साताअघिदेखि सिट बाँडफाँटको किचलो टुंगो लाग्न सकेको छैन् । गठबन्धनमा आवद्ध वाम दलका कतिपय प्रभावशाली नेताहरु कांग्रेसले सिट बाँडफाँटमा सम्मानजनक हैसियत नदिए वामदलबीच तालमेल हुनसक्ने चेतावनी दिइरहेका छन् । गठबन्धनमा आवद्ध वाम नेताहरुले अझै वाम तालमेलको सम्भावना देखाईरहेको सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि आसन्न निर्वाचनमा चुनावी तालमेलको ढोका खुला राख्ने निर्णय गरेको छ ।

अर्कोतिर नेकपा एमाले र गठबनधनमा आवद्ध वाम दलका कतिपय नेताहरु भने आसन्न निर्वाचनमा वाम दलहरुबीच चुनावी तालमेलको च्याप्टर बन्द भइसकेको दावी गर्दै आएका छन् । गत आमनिर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच अनपेक्षित चुनावी तालमेल र पछि पार्टी नै एकता भएकोले अझै पनि आसन्न निर्वाचनमा वामदलहरुबीच चुनावी तालेमेलको सम्भावना उत्तिकै रहेको राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह बताउनुहुन्छ ।

बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनपछि नेकपा एमाले र सत्तागठबन्धनमा आवद्ध वामदलका नेताहरुबीच चुनावी तालमेलका लागि पटक–पटक प्रयत्न भएका छन् । सत्ता गठबन्धनबीच आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय भएपछि पनि नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका दोस्रो र तेस्रो तहका नेताहरुबीच अनौपचारिक छलफल भइरहेको दावी गरिएको छ ।

भर्खरै सम्पन्न नेकपा एमाले केन्द्रीय समिति बैठकमा नेता घनश्याम भुसालले वाम एकताको प्रस्ताव राख्नुभएको थियो । नेपालको राजनीतिमा जे पनि सम्भव रहने विगतको इतिहास रहेकाले आगामी दिनमा त्यस्तो इतिहास नदोहोरिएला भन्न सक्ने अवस्था भने टरिसकेको छैन् ।