Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


एमाले पहिलो पार्टी हुने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन


195
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन परिचालनका सन्दर्भमा पार्टीले गर्नुपर्ने कामका बारेमा विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमा पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र संकल्पका साथ लाग्न निर्देशन दिनुभयो । उहाँले निर्वाचनमा पार्टीले विजय हासिल गर्नु भनेको एमालेका लागि मात्र नभई सिंगो राष्ट्र जोगाउनका लागि भएकाले सोहीअनुरूपको काम गर्न केन्द्रीय नेताहरूलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले देशको विकास र समृद्धि तथा जनताको जीवन सुखमय बनाउने नीतिहरू एमालेसँग मात्रै रहेको दाबी गर्दै ती नीति कार्यान्वयनका लागि निर्वाचनमा बहुमत प्राप्त गरी सरकार गठनका निम्ति परिचालित भई पार्टीलाई विजयी बनाउन सिंगो पार्टी पंक्तिलाई निर्देशनसमेत दिनुभयो । अध्यक्ष ओलीले नागरिकता विधेयकका सन्दर्भमा गठबन्धन दलले एमालेका विरुद्धमा भ्रम फैलाउने प्रयास गरिरहेको बताउँदै जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको धारणा रहेको स्पष्ट गर्नुभयो । उहाँले कोही पनि नेपाली नागरिकले नागरिकता पाउनका लागि दुःख पाउनु हुँदैन भन्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले जनताका हरेक समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छ र समाधान गर्छ भन्दै त्यसै गरी नागरिकताको समस्या पनि समाधान हुनुपर्छ भनेरै आफ्नो नेतृत्वको सरकारका पालामा विधेयक ल्याएको र माओवादीले तीन वर्षसम्म संसदीय समितिमा रोकेको बताउनुभयो । बैठकले निर्वाचन परिचालन कमिटीको कामलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सचिवालय गठन गरेको छ । सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानुन विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सातवटा जनसंगठनका अध्यक्षहरू रहनुभएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।