दीपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, जेठ १५ । राजतन्त्रको अन्त्य गर्दै मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेको आज १२ वर्ष पूरा भएको छ ।
गणतन्त्रले १२ वर्ष पूरा गरेपनि वास्तविकरुपमा जनताले यसको अनुभव गर्न नपाएको टिप्पणी हुन थालेको छ ।
२०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।
कोरोना प्रकोपले बन्दाबन्दीको कारण यस वर्ष गणतन्त्र दिवसको औपचारिक कार्यक्रम भने हुन सकेन ।
गणतन्त्र घोषणा भएको १२ वर्ष बितिसक्दा पनि जनताले वास्तविकरुपमा गणतन्त्रको अनुभूति गर्न नपाएको नेतृत्वकर्ताहरुले नै बताउँदै आएका छन् ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै ‘वर्षौंदेखि मूच्र्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन थालेको’ भन्दै ‘आफ्नो देश आफैं बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको’ बताएका छन् ।
प्रधानमन्त्रीले गणतन्त्रले अभूतपूर्व परिवर्तन ल्याएको दाबी गरेपनि धेरैले यसलाई सहजै पत्याएका छैनन् ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ मुलुकमा अहिले गणतन्त्रको मर्मअनुसार व्यावहारिकरुपमा काम हुन नसकेका टिप्पणी गर्छन् ।
गणतन्त्रपछि पटक–पटक सत्तामा पुगेका राजनीतिक दलका नेताहरुले नै गणतन्त्रअघि र पछिको शासन पद्धतिमा परिवर्तन नआएको बताइरहेका छन् ।
प्रधानमन्त्री ओलीले भनेजस्तै पक्कैपनि गणतन्त्रको स्थापनापछि जनताका मूर्छित सपनाहरु बिउँझिएका हुन् ।
तर, जनता सरकार र राजनीतिक दलबाट आफूले सोचेका सपनाहरु पूरा होलान् भन्नेमा अझैपनि विश्वस्त हुन सकेका छैनन् ।
मुलुकको नेतृत्वले जनतामा परिवर्तनको आभास दिलाउन आवश्यक छ । यसका लागि जनताको गुनासो र सुझावलाई नेतृत्वले सुन्न र मनन् गर्न आवश्यक छ ।
गणतन्त्र सीमित व्यक्ति र वर्गकोमात्र पेवा बन्न हुँदैन । यसको फल सबै नेपालीले समानरुपमा पाउन आवश्यक छ ।










प्रतिक्रिया दिनुहोस्