Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मतपत्र छाप्ने कागज किन्न समस्या


221
Shares

काठमाडौं । आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ। मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताउनुभयो । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो । तर न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ । आयोगले ८५० मेट्रिक टन कागज खरिद गर्न लागेको हो ।

उहाँका अनुसार चारवटा आपूर्तिकर्ताले प्रस्ताव पेस गरेका थिए । तर चारवटैको प्रस्तावित मूल्य आयोगको न्यूनतम मूल्यभन्दा बढी थियो ।

आयोगले स्थानीय निर्वाचनमा सात सय मेट्रिक टन कागज खरिद गरेको थियो । जसका लागि करिब १३ करोड रुपैयाँ खर्च भएको थियो। उक्त खरिद प्रक्रियाबमोजिम आयोगले करसहित प्रतिमेट्रिक टन एक लाख ६२ हजार ९४६ रुपैयाँ तिरेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कागजको मूल्य बढ्दा त्यसको असर मतपत्रका लागि आवश्यक कागज आपूर्तिमा समेत परेको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।