काठमाडौं । नेपाली सुगन्धित जडीबुटीको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले युरोपमा हुन लागेको एक कार्यक्रममा दर्जन सरकारी कर्मचारी सहभागी हुन लागेका छन् ।
जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीआईजेड) नेपालको आयोजनामा हुने कार्यक्रममा व्यवसायी र निजी क्षेत्रको कोटामा समेत केन्द्र र प्रदेशका कर्मचारी जान लागेका हुन् ।
भदौ १६ देखि २४ सम्म उनीहरूले फ्रान्स र इटाली भ्रमण गर्नेछन् ।
भ्रमणमा संघको वन तथा वातावरण, प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र तत्कालीन वन कार्यालयका प्रमुख ९डीएफओ०हरू सहभागी हुनेछन् ।
जीआईजेडकै जडीबुटी प्रवर्द्धन कार्यक्रम ‘इन्म्याप्स’ का प्रोजेट मेनेजर कल्याण गौलीसहित तीन जना पनि भ्रमणमा जाँदै छन् ।
भ्रमणमा करिब एक करोड रुपैयाँ खर्च हुने जीआईजेडले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी ‘वैदेशिक भ्रमण निर्देशिका २०७५’ मा परामर्शदाता वा ठेकेदारको खर्चमा वैदेशिक भ्रमणका लागि कर्मचारीलाई मनोनयन गर्न नपाइने उल्लेख भए पनि अधिकांश सरकारी कर्मचारी जान लागेका हुन् ।
भ्रमण टोलीको नेतृत्व गर्न लागेका प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेलले ‘एक्सपोजर भ्रमण’ मा सरकारी रकम खर्च नहुने दाबी गरे ।
‘केन्द्रको मन्त्रालयका सचिवज्यूसँग सल्लाह गरेरै कार्यक्रम बनाइएको हो,’ उनले भने । -कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्