Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको सभापति देउवाको दावी


0
Shares

काठमाडौं । नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले आज एक शुभकामना सन्देशमार्फत नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात काँग्रेसको नेतृत्वमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बताउँदै सभापति देउवाले उच्च सतर्कता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न सबैलाई आग्रह गरेका छन् ।

सभापति देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएकाले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकको पक्षमा आफूहरु रहेको बताएका छन् । उनले यसबारेमा भ्रम नफैलाउन पनि आग्रह गरेका छन् ।

नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।