
काठमाडौं, जेठ १५ । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचाररत एक बिरामीको कोरोना संक्रमणका कारण निधन भएको छ । यद्यपि, यसको स्वास्थ्य मन्त्रालयले भने औपचारिक घोषणा गरेको छैन ।
योसँगै कोभिड–१९ का कारण नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताएका छन् । डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किष्टमा पठाइएको थियो ।
बिरामीका मृत्यु भएपछि अहिले उक्त अस्पतालमा उच्च सावधानी अपनाइएको छ । अस्पतालको एमआइसियुमा भर्ना भएका ५६ वर्षीय पुरुषको बुधबार कोरोना संक्रमणका कारण निधन भएको थियो ।
उक्त अस्पतालमा आइसियुमा भर्ना भएका सबै बिरामीको सोमबार स्वाब संकलन गरिएको थियो । मृत्यु भएका एक जना र अर्का एक जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको पनि जनाइएको छ ।
अर्का एक जना बिरामीलाई भने आइसोलेसनमा राखेर उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ ।
१२ गते सिकिस्त अवस्थामा पाटन अस्पतालमा पुर्याइएका ती ५६ वर्षीय पुरुषलाई त्यहाँ आइसियु नभएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो ।
जटिल अवस्थाका उनलाई एमआइसियुमा भर्ना गरेर स्वाब संकलन गरिएको र उपचारमा उच्च सावधानी अपनाइएको अस्पतालले जनाएको छ ।
उनको उपचारमा संलग्न चिकित्सक र डाक्टरहरु गरी २० जना रिपोर्टलगत्तै क्वारेन्टाइनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्