काठमाडौं, जेठ १४ । प्रतिनिधिसभाको बुधबारको बैठकमा संविधान संशोधन विधेयक पेस भएन ।
संसद सचिवालयले मंगलबार प्रकाशित गरेको प्रतिनिधिसभा बैठकको बुधबारको सम्भावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७’ पेस गर्ने रहेको थियो ।
तर, बुधबार भने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा संंविधान संशोधन विधेयक पेस गर्ने विषय राखिएन ।
कार्यसूची तय गर्ने कार्यक्षेत्र सभामुखमा हुन्छ । तर, के–कति कारणले संविधान संशोधन विधेयक कार्यसूचीबाट हट्यो भन्ने विषयमा सभामुखको सचिवालयले कुनै जानकारी दिएको छैन ।
संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि सर्वसम्मतिले पारित गराउने पहल सरकारले थालेको छ ।
सर्वसम्मत् पारित गराउने प्रयासस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वदलीय बैठक बोलाएका थिए ।
तर, बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो पार्टीको केन्द्रीय समितिबाट संविधान संशोधनका विषयमा निर्णय गर्न समय मागेको र मधेसवादी दलले ‘प्याकेज’मै संविधान संशोधन गर्नुपर्ने अडान राखेका थिए ।
प्रतिपक्ष दलले समय मागेको र मधेसकेन्द्रित दलको अडानका कारण सरकार बुधबारको बैठकमा विधेयक पेस नगर्ने निर्णयमा पुगेको जनाइएको छ ।
सरकारले अद्यावधिक गरेको नेपालको नक्साअनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो ।
संविधान संशोधनको लागि संसदमा हाल कायम रहेको सांसद संख्याको दुईतिहाइ मत आवश्यक पर्छ ।









प्रतिक्रिया दिनुहोस्