Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


रेडियोधर्मी पदार्थसम्बन्धी विधेयक स्वीकृत


0
Shares

काठमाडौं, जेठ १४ । रेडियोधर्मी पदार्थसम्बन्धी विधेयक बहुमतले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस भएको उक्त विधेयकमा भएको छलफलपछि बहुमतका आधारमा स्वीकृत भएको हो । यो विधेयकबारे पहिलेदेखि विरोध हुँदै आएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा अरु विधेयकहरु पनि पेस भएका छन् ।

बजेट बिहीबार

आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार (भोलि) संघीय संसदमा पेस हुँदैछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

संविधान संशोधन विधेयक पेस भएन

चर्चामा रहेको संविधान संशोधन विधेयक भने बुधबारको प्रतिनिधिसभाको बैठकमा पेस भएन ।

सर्वसम्मत पारित गराउने प्रयासस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वदलीय बैठक बोलाएकामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो पार्टीको केन्द्रीय समितिबाट संविधान संशोधनका विषयमा निर्णय गर्न समय मागेको थियो ।

यस्तै, मधेसवादी दलले प्याकेजमै संविधान संशोधन गर्नुपर्ने अडान राखेका कारण आजको बैठकमा संविधान संशोधन विधेयक पेस नभएको हो ।

सरकारले अद्यावधिक गरेको नेपालको नक्साअनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो ।

संविधान संशोधनको लागि संसदमा हाल कायम रहेको सांसद संख्याको दुईतिहाइ मत आवश्यक पर्छ ।