२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


निहारिकाको मुद्दामा उच्च अदालत जनकपुरले दियो डीएनए जाँच गर्न आदेश


1.066k
Shares

काठमाडौं । निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले डीएनए जाँच गर्न आदेश दिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको बच्चाको डीएनए र जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको दुई निवेदनको हस्ताक्षर जाँच गर्न आदेश दिएको हो ।

सरकारी वकिल कार्यालय तथा जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, मिरा ढुंगाना, वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, शान्ति काफ्ले र रिंकु कुमारी यादवले बहस गर्नुभएको थियो । यस्तै प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट श्याम मिश्रले बहस गर्नुभएको थियो ।

यसअघि निहारिका राजपुतको नामबाट २०७६ माघ १९ गते र फागुन ११ गते जिल्ला प्रहरी कार्यालय धनुषामा हक तथा न्याय पाउन निवेदन परेको थियो । जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले २०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिनुभएको थियो ।

उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै उहाँले काठमाडौंमा दोस्रोपटक आमरण अनशन सुरु गर्नुभएको थियो । अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दामा फास्ट्रयाकमा अघि बढेको हो ।