Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


खाल्डा–खुल्डी पुर्न मान्छे नै मर्नुपर्ने हो !


1.6k
Shares

काठमाडौं । केही वर्षअघिसम्म सुन्दर देखिएको धोबिखोला करिडोर सडक खाल्डाखुल्डीका कारण जोखिमयुक्त बन्दै गएको छ । सडकमा बनेका स–साना खाल्डा समयमै नपुर्दा जोखिम बढेको हो ।

‘हजारौं सवारी गुड्ने सडकमाझका खाल्डा पुर्नलाई मान्छे नै मर्नुपर्ने हो र ?’ ट्याक्सीचालक अर्जुन ठकुरी प्रश्न गर्छन्, ‘होइन भने जोकोहीले पनि सहजै देखिने यस्ता खाल्डा पुर्न सम्बन्धित निकाय किन पछि पर्छ ? ’

चाबहिलनजिक भत्केको पुलतिरबाट ओम अस्पतालतर्फ जाँदै गर्दा तरकारी बजारअगाडिको खाल्डो निकै जोखिमयुक्त रहेको उनले सुनाए । रातको समयमा उनी आफैं सो खाल्डामा खसेको तर ठुलो दुर्घटनाबाट जोगिएको उनले बताए । ‘आफ्नै सुरमा गाडी हाँक्दै गर्दा अचानक खाल्डो भेटिन्छ,’ उनी भन्छन्, ‘झट्ट मोड्न खोज्दा दुर्घटनाको जोखिम रहन्छ ।’

यहाँ मात्र होइन, अनामनगरछेउबाट चाबहिलतर्फ जाँदै गर्दा धोबिखोला करिडोरमा थुप्रै खाल्डाखुल्डी भेटिन्छन् । ‘सडकबिचमा रहेका खाल्डाका कारण थुप्रै दुर्घटना भइसकेको छ,’ पसलअगाडिको खाल्डो देखाउँदै सम्झना तामाङले भनिन्, ‘महिनौं भइसकेको छ तर पुर्न कसैले चासो देखाएका छैनन् ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।