१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


दुई प्रतिशत व्यक्तिको कोरोना परीक्षण गर्ने सरकारी लक्ष्य, अहिलेकै गतिले छ महिना लाग्ने


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, जेठ १३ । सरकारले कुल जनसंख्याको दुई प्रतिशत व्यक्तिमा कोरोना परीक्षण गराउने योजना रहेको जनाएको छ ।

संक्रमणको दर बढ्दै गएको दुई महिना बितिसक्दा पनि अझै ‘पीसीआर’बाट ५५ हजार व्यक्तिको परीक्षण हुन सकेको छैन ।

विभिन्न नाकाबाट विनापरीक्षण नै हजारौं व्यक्ति नेपाल प्रवेश गरिरहेका छन् । यस्तो गतिमा सरकारले छ लाख व्यक्तिको परीक्षण गराउन सक्ला ? त्यो पनि कहिलेसम्म ?

प्रधानमन्त्री केपी शर्मा आलीको भनाइअनुसार कुल जनसंख्याको दुई प्रतिशत व्यक्ति भनेको छ लाख व्यक्ति हुन् ।

सरकारले ‘लकडाउन’ सुरु भएको दुई महिना बितिसक्दा पनि ‘आरडीटी’ र पीसीआर गरी झन्डै डेढ लाख व्यक्तिकोमात्र स्वास्थ्य परीक्षण गराएको छ ।

परीक्षणको गति र प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा आमनागरिकले विश्वास गरिहाल्ने अवस्था भने छैन ।

कोरोना छ कि छैन भन्ने पहिचान गर्ने भरपर्दो विधि भनेको पीसीआर परीक्षण हो । जुन सरकारले हालसम्म ५५ हजार व्यक्तिकोसमेत गर्न सकेको छैन । आरडीटीबाट झन्डै एक लाखजनाको परीक्षण भएको छ ।

यो गतिमा नै जाने हो भने पीसीआर र आरडीटी परीक्षणलाई जोडेर पनि छ लाख व्यक्तिको परीक्षण गराउन अझै छ महिना समय लाग्छ ।

संक्रमण देखिएको दुई महिना बितिसक्दा पनि यथेस्ट व्यक्तिको परीक्षण हुन नसकेका कारण संक्रमण फैलिँदै गएको विज्ञहरु बताउँछन् ।

तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक महिनामा डेढ लाख व्यक्तिको परीक्षण गराउन सक्ने गरी तयारी गरिएको बताए ।

हाल देशभर २० ओटा ल्याबबाट पीसीआर परीक्षण हुँदै आएको भन्दै उनले दैनिक चार हजारको परीक्षण सकिने क्षमता रहेको बताए । 

एउटा ल्याबबाट २०० जनाको परीक्षण गराउन सक्ने क्षमता भएतापनि हाल त्यो परीक्षण हुन नसकेको डा. देवकोटा स्वीकार गर्छन् ।

दैनिक चार हजारजनाको पीसीआर परीक्षण भयो भने एक महिनामा एक लाख २० हजार व्यक्तिको परीक्षण हुन्छ । सोअनुसार पनि अझै पाँच महिना समय लाग्छ ।

तर, मन्त्रालयले केही दिन तीन हजार व्यक्तिको पीसीआर परीक्षण गरेपनि हाल दुई हजारभन्दा बढाउन नै सकेको छैन । योअनुसार नै जाने हो भने एक महिनामा ६० हजार व्यक्तिकोमात्र परीक्षण हुन्छ ।

विश्व स्वास्थ्य संगठनले आरडीटी परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाएपनि प्रवक्ता डा. देवकोटाले भने ‘क्वारेन्टाइन’मा बस्ने व्यक्तिहरुमा संक्रमण छ कि छैन भन्ने थाहा पाउन आरडीटी आवश्यक रहेको बताए ।

संक्रमणको दर र जोखिमलाई कम गराउने प्रमुख विधि नै परीक्षण हो । छ लाख व्यक्तिको एक महिनामा परीक्षण गराउन सकियो भनेपनि संक्रमणलाई जोखिम कम गराउन सकिन्छ ।

तर, परीक्षणको गतिलाई नबढाउने हो भने त संक्रमणको दर झन् बढ्ने देखिन्छ । जसबारे सरकारको ध्यान जान आवश्यक छ ।