लकडाउनमा जकडिएको विश्व: कोरोना महाव्याधिको अन्त कहिले ? « Image Khabar


लकडाउनमा जकडिएको विश्व: कोरोना महाव्याधिको अन्त कहिले ?


Imagekhabar
१० जेष्ठ २०७७, शनिबार ०६:५९

-हरिविनोद अधिकारी

प्रत्येक विपदासँग सम्भावित सुनौलो भविष्य पनि गाँसिएर आउँछ भन्ने चलन छ । अहिले नेपालसँग विश्वभर कोरोनाको विपदा बैँसमा छ । कोरोना विपदासँगै नेपालको गुमेको जमिन र  अडानसहितको अस्मिता फिर्ता हुन लागेको छ ।  भारत र चीनका बीचमा भएको व्यापार सम्झौताका लागि २०१५मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले लिएको अडान र चीन तथा भारतलाई दिएको स्पष्ट अडानसहितको कूटनीतिक नोटले नेपाली काँग्रेस भारत र चीन दुवैको खराब सम्बन्धको विन्दुबाट ऋणात्मक अवस्था अझै छ । स्वयं कोइरालालाई दुवै देशले राजकीय भ्रमणमा बोलाएनन् जुनकुरालाई कोइरालाले राष्ट्रियताका लागि त्यो अवसरलाई  वास्ता गर्नु भएको थिएन । अहिले नेपालले सार्वजनिक गरेको नक्शा र अडानका लागि खुट्टा कमाउनु पर्ने कुरा छैन । हामीसँग प्रशस्त प्रमाण छन् ।

सबैभन्दा ठूलो प्रमाण बृहत् भूमिलाई अंग्रेजले छल गरेर सुगौली सन्धीमार्फत् लगेको जमिन र त्यहाँका बासिन्दा हुन् जो अझै नेपाली भारतीयका रुपमा बाँचेकै छन् । अंग्रेजसँगकै कुरा गर्दा त भारत पाकिस्तान र बाङ्लादेशका रुपमा विभाजित भइसकेको छ र ती जमिन भारतले जोगाउन सकेको छैन । अनि किन नेपाली जमिनको बढी वास्ता ? नेपाल सानो देखेर हेपेको हो भने आजको संसारमा युद्ध हतियारले मात्र लडिँदैन र एकतर्फी निर्णयले मात्र समस्या समाधान हुँदैन भन्ने कुरा भारतले जति कसले पो बुझेको होला । यसवारेमा भारतका महानवाणीहरु नै हामीले दोहोर्‍याउने हो जस्तो कि हाम्रा प्रधानमन्त्रीले सँसदमा सत्यमेव जयते कि सिँहमेव जयते भनेर भारतकै आप्तवाक्यलाई उनीहरुकै समक्ष प्रस्तुत गर्नुभएको छ ।

लकडाउनभित्रै धेरै कुरा भएको छ नेपालमा । यही लकडाउनका बीचमा नै विवादास्पद अध्यादेशहरु आए दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी । ती लकडाउनकै बीचमा लक्ड डाउन भए । राष्ट्रपति महोदयाले जसरी नेपाल सरकारको सिफारिसमा जारी गर्नु भएको थियो, त्यसैगरी सरकारको सिफारिसमा नै फिर्ता लिनुभयो । सरकार भित्रका मन्त्री, नेकपाको आन्तरिक विरोध र प्रतिपक्षीको कडा विरोधका कारणले फिर्ता लिनु पर्‍यो । ती अध्यादेशका  पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमका वारेमा उठेका प्रश्नहरुको जबाफ दिँदा संवैधानिक आयोगहरुको गठनमा भएको ढिलाइका समाधानका  वारेमा ल्याएको अध्यादेश फिर्ता गर्नु परेको कुरा दोहो¥याउनु भएको थियो । अर्थात् ती अध्यादेशहरु पनि लकडाउनकै परिणाम थिए कि ? अनि दुई जना प्रतिनिधि सभाका साँसदहरु र पूर्व प्रहरी महानिरीक्षकसमेतमो लकडाउनमा देखिएको गतिशीलता अनि दुनियाँ घरबाट निस्कन नपाउने बेलामा उहाँहरु सिन्धुलीको बाटो हुँदै महोत्तरी पुगेर फेरि राजधानीमै आउने पुरुषार्थलाई पनि लकडाउनकै परिणाम मान्न बाध्य भएका छौँ ।

अझ त्यो भन्दा पनि बढी त नेपालले आफ्नो हराएको नक्शा फेरि पाएको छ । पुर्खाको कमाईलाई जोगाउन कति सकेका छौँ होला, तर अझै त्यो सम्पत्तिले हामीलाई फर्की फर्की आउने क्रम जारी देखिएको छ । अर्थात् लकडाउनमै हामी अब आफ्नो जमिनको लेखाजोखा गर्न तम्सिएका छौँ । अचम्भ त यसले पनि लाग्यो कि बाटो बनेको कुरा भारतीय रक्षामन्त्री राजनाथ सिंहले विश्वलाई वेभिनारबाट जानकारी नदिएका भए हामीले चाहिँ त्यो बाटोका बारेमा कहिले थाहा पाउने थियोँ होला ? अनि कात्तिकमा  भारतले नेपाललाई नसोधी, छलफल नै नगरी  नेपाली भूमिलाई आफ्नो पार्दै एकतर्फी नक्शा छापेर सार्वजनिक गर्दा हाम्रो विरोधको वास्ता नगर्ने अनि अहिले नेपालले सुगौली सन्धीको आधारमा आफ्नो नक्शा तयार पार्दा भारतले नेपालले भारतसँग छलफल नगरी एकतर्फीरुपमा नक्शा सार्वजनिक गरेको भनेर त्यो नक्शा मान्य नहुने भन्दा हाँसो उठ्दो लाग्यो । त्यही काम आफूले गर्दा ठीक अनि नेपालले आफ्नो मिचिएको जमिनका वारेमा आफ्नो नक्शा सार्वजनिक गर्दा के को विरोध ? तर त्यो पनि भारत र नेपालमा कडा लकडाउनका बीचमा नै सम्भव भएको छ ।

संसार लकडाउनमा छ, हामी नेपाली पनि चैत्र ११ देखि लकडाउनमा छौँ । यो लकडाउन हालको अवस्थामा जेठ २० गतेसम्मका लागि विस्तारित छ । नेपालमा (यी हरफ लेख्दासम्म ) करिब साँढे चारसय मानिसहरुमा कोभिड-१९को संक्रमण देखिएको छ जसमा ३ जना व्यक्तिहरुको अमूल्य जीवनलाई त्यही अदृश्य भाइरसले अन्त्य गरेको छ । विश्व स्वास्थ्य संगठनले भने यो कोभिड-१९ लामो अवधिसम्म रहिरहने अनुमान गर्न थालेको छ किनभने २० मेका दिन सबैभन्दा बढी संक्रमित संसारमा देखिएको तथ्याङ्क देखिएको डरलाग्दो चित्र प्रस्तुत गरेको छ ।

कोभिड-१९ अर्थात् नोभल कारोना भाइरस जुनचाहिँ सन् २०१९को अन्त्यतिर चीनको वुहानमा देखियो, चीनमा विषाणुको संक्रमण सुरु भयो र अहिले संसारभर फैलिएको छ । यी हरफ लेख्दासम्म संसारका २१३ देश तथा दुईओटा पानी  जहाजमा फैलिएको छ । करिब ५१ लाख व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिएको छ भने करिब साँढे तीन लाख जत्तिको त्यस संक्रमणका कारणले मृत्युसमेत भएको तथ्याङ्क वल्र्डोमिटरले देखाएको छ । मात्र मानिसहरु मरेको मात्र भनेको छैन तथ्याङ्कले, संक्रमणलाई जितेर बिसेक भएकाहरुको संख्या पनि करिब साँढे बीसलाख जति छ । एकातिर भयावह अवस्था कहिलेसम्म रहने भन्ने चिन्ता छ विश्वभर भने अर्कोतिर वैश्विक परिस्थितिमा नयाँ नयाँ आयामको अपेक्षा गर्न थालिएको छ । विश्व नै हाहाकार भएको बेलामा एकले अर्कालाई सहयोग गर्नुपर्ने बेला हो । बाँच्नका लागि अति आवश्यक तत्व भनेको  गाँस, बास र कपास नै हो । स्वास्थ्यको हेरचाह र अधिकार मानवीय अधिकार हो विश्वमा । हुनेले नहुनेलाई सहयोग गरेर मानवमात्रको बाँच्न पाउने नैसर्गिक अधिकार जगेर्ना गर्नु पर्ने माग संसारभर उठेको छ । यो कोरोना कहरले वैश्विक परिस्थितिमा नयाँ आयाम आउने भविष्यवाणी गर्न थालेका छन् अर्थविद् तथा मनोविद्हरु ।

विकासविद्हरुले पनि मानवीय विकासको कुन तहमा हामी छौँ भनेर भन्न नसकिने बताउन थालेका छन् किनभने ५ महिनासम्म न त ओखतीको कुनै आविष्कार हुन सकेको छ, न कुनै सुरक्षाको प्रवन्ध गर्न सकिएको छ । साबुनले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, सफासुग्घर रहने जस्ता सधैँका लागि आवश्यक पूर्वाधारको कुराले कोरोनाको कुनै कमी हुन सकेन । कतै कुनै लक्षण विना नै कोरोना संक्रमण भनिएको छ र कतै  भने कतै अझैसम्म रोग संक्रमित हो कि होइन भनेर परीक्षण हुन सकेको अवस्था छैन । सबैभन्दा विकसित देशहरुको त्यो हालत छ भने अविकसित तथा विकासोन्मुख देशहरुको के कुरा गर्ने ? त्यहाँ त जति बाँचेका छन् र असंक्रमित छन् , ती सबै भगवान भरोसा नै देखिएको छ ।

साँच्चै भन्ने हो भने कोरोनाको उद्गमस्थलका वारेमा नै विवाद छ र विश्वका १२४ प्रजातान्त्रिक राष्ट्रहरुले यसको स्वतन्त्र अनुसन्धान गर्नका लागि विश्व स्वास्थ्य संगठनलाई अनुरोध गरिसकेका छन् । यसमा शङ्काको सुईचाहिँ चीनको भाइरस प्रयोगशालाको उपज हो र चीनले जैविक हतियारको रुपमा विकसित गर्न लागेको भाइरस चुहिएर यो सर्वनाश गराएको भन्ने तिर इंगित छ जसलाई चीनले अस्वीकार गरेको भए पनि नोबेल पुरस्कार प्राप्त वैज्ञानिकहरुसमेत यस प्रश्नमा विभाजित देखिएका छन् । कतिपय वैज्ञानिकहरुले दाबाका साथ भन्न थालेकाले नै अस्ट्रेलियको नेतृत्वमा अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघलाई समेत गुहारेको पाइन्छ । यो सबै विश्व नै लकडाउनमा हुँदै भएका छन् । आखिर लकडाउनमा पनि विश्व जुर्मुराएको देखिन्छ । 

र अन्त्यमा, प्रत्येक सरकारले लकडाउनलाई प्रेसको मुख थुन्ने अवसरको रुपमा लिन लागेको देखिन्छ । एकदलीय र अप्रजातान्त्रिक निरङ्कुश शासनमा त यो छँदै थियो तर अमेरिका, भारत , नेपाल जस्ता मुलुकमा पनि प्रेसलाई कुनै न कुनै बहानामा नियन्त्रण गर्ने जुन प्रक्रिया अघि बढाएको देखिन्छ, त्यसको निन्दा गर्नु पर्छ । खोइ अहिले किन हो , संयुक्त राष्ट्रसंघ र यसका निकाय तथा विभागहरुको समन्वय र सक्रियता देखिएन कोरोना महाव्याधिमा । मात्र रमिते र नदीले खेत वस्ती कटान गर्दा छेउमा बसेर रमिता हेर्ने बटुवा जस्तै । सायद कोरोना महाव्याधिपछि संयुक्त राष्ट्रसंघ, यसका शक्ति  निशेषाधिकार प्राप्त शक्ति राष्ट्रहरु र विश्व स्वास्थ्य संगठन, विश्व बैँकहरुको विश्वका सबै राष्ट्रहरुप्रतिको असमान व्यवहार र महाविपदामा देखिएको किँकर्तव्यविमूढताका वारेमा पक्कै नयाँ संरचनाका वारेमा आवाज उठ्ला । आवाज उठ्नै पनि पर्छ । 

 

प्रतिक्रिया दिनुहोस्