Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अमेरिकाले सामाजिक दूरी कामय गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो : अनुसन्धान


0
Shares

वासिङ्टन डिसी, जेठ ९ । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दूरी कायम गर्नेखालको नीति लिएको भए अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्नसक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।

अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दूरी कायम गर्न सकिनेखालको नीति लिएको थियो ।

तर, त्यसको दुई हप्तामात्रअघि यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने सो अध्ययनले देखाएको छ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ साइन्सले हालैमात्र गरेको एक अनुसन्धानमाा यस्तो तथ्य पत्ता लागेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकामा गत मार्च महिनाको पहिलो र दोस्रो हप्तामा धेरै मानिसमा यो कोरोनाभाइरसको संक्रमण बढेको देखिएको छ ।

यदि, त्यति नै बेला ‘लकडाउन’ या अरु नै केही नीति बनाएर नागरिककाबीचमा सामाजिक दूरी कायम गर्ने वातावरण बनाउन सकेको भए अहिले भएको अमेरिकीहरुको मृत्युमा कम्तीमा पनि ३६ हजार कमको मृत्यु हुने अनुमान गरिएको पछिल्लो यो अनुसन्धानले देखाएको छ ।

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार हाल अमेरिकामा १५ लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । त्यस्तै, यहाँका ९४ हजार ७०० भन्दा बढीको ज्यान गएको छ ।

अमेरिकामा सामाजिक दूरी कायम गर्नेखालको सतर्कता अपनाउन र त्यस्तै लकडाउनजस्तै नीति सम्बन्धमा निर्णय गर्न दुई हप्ता ढिलो भएका कारण त्यहाँ बढी क्षति हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएनआई