Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


नयाँ मुलुकी संहितामा अदालत–प्रहरी नै अलमलमा


0
Shares

काठमाडौं । एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ ।

मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए ।

नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन् । अदालतमा नयाँ सफ्टवेयरसमेत भित्रिसकेको छैन ।

कानुन व्यवसायीले नयाँ कानुनबारे सरोकारवाला अनभिज्ञ रहेकाले सम्पर्कमा आएजति सबै मुद्दा बिहीबारै प्रहरी र अदालत पठाइसकेका थिए ।

नेपाल बार एसोसिएसनका जिल्ला इकाई अध्यक्ष नन्द भण्डारीले नयाँ ऐनबारे सरोकारवाला सबै पक्ष अपडेट हुन बाँकी रहेको बताए ।

‘हामी पनि अध्ययन गर्दैछौं, धेरै कानुन एकीकृत भएर आएका छन्,’ उनले भने, ‘सम्पर्कमा आउने मुद्दाका पक्षहरूलाई समेत नयाँ कानुनबारे जानकारी गराइरहेका छौं, अहिले नै जाहेरी, फिरादपत्र लेख्न सुरु गरेका छैनौं ।’

शुक्रबार वीरेन्द्रनगरस्थित अधिकांश ‘ल फर्म’ सुनसान थिए भने कानुन व्यवसायी पनि दुवै संहिताका विशेषता र कार्यान्वयनका सवालमा आपसी गफगाफमा व्यस्त देखिन्थे ।

मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता साथै अरू दुई कार्यविधि कानुन, फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने ऐन र केही नेपाल समायोजन तथा खारेज गर्ने ऐन पनि लागू भएका छन् ।

त्यस्तै, नागरिक ऐन, गाली बेइज्जती ऐन, करार ऐनलगायत १५ वटा कानुन खारेजीमा परेका छन् । -कान्तिपुर दैनिकबाट