कोइराला समूहको बैठक आज बस्दै « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


कोइराला समूहको बैठक आज बस्दै


1.209k
Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै नेता शेखर कोइराला समूहले आफू पक्षीय नेताहरुको बैठक डाँक्नुभएको छ ।

देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै कोइराला समूहले आज शनिबार दिउँसो बैठक बोलाएको हो ।

बैठकमा देउवाविरुद्धको रणनीति तय हुने बताइएको छ । बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिनुभयो ।

सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै, पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय नेताहरुको आरोप छ ।

देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने कोइराला समूहको तयारी छ । देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गर्नुभएको छ ।

कोइराला समूहले सुरूमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै, किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूह अटेको छैन । यस्तै, चुनावी रणनीतिका सन्दर्भमा पनि कोइराला समूहको बैठकमा छलफल हुने बताइएको छ ।