
चन्द्र कटुवाल
ढाड तथा कम्मरको दुखाई हिजोआज आम समस्या बन्दै गईरहेको छ । प्रायः सबै जसो उमेर समूहका ब्यक्तिमा यो समस्या देखिने गरेको छ । गलत तरिकाले योग गर्नुले पनि ढाडको समस्या उत्पन्न हुन सक्छ । त्यसैले दक्ष योग शिक्षक बाट मात्रै योग सिक्ने र सिकाउने गर्नु पर्दछ । गलत खानपान, ब्यायामको कमी, अस्त–ब्यस्त जीवनशैली, अत्यधिक मोटोपन, आलस्यता गलत आसनमा उठ्ने र बस्ने यसका कारक तत्व हुन । शारीरिक क्रिया र रचना विज्ञानको ज्ञानबिना योग सिक्ने तथा सिकाउने, युटूबबाट सिकेर अरुलाई सिकाउने जस्ता कारणले पनि स्वास्थ्यमा बिभिन्न समस्याहरु आउन सक्छन् ।
समयमा नै केही सावधानी अपनाउने हो भने ढाड तथा कम्मर दुख्ने समस्याबाट सजिलै राहत पाउन सकिन्छ । मुख्यतया योग नै यसको उत्तम उपाय हो । अत्यधिक दुखाई भएमा चिकित्सक वा बिज्ञको राय सल्लाह लिनु पर्दछ ।
ढाड तथा कम्मर दुखाईमा गरिने योग र फाइदा :
– विशेष गरी ढाडलाई पछाडी झुकाउने आसन बढ़ी लाभदायक मानिन्छन् । यिनीहरूले ढाडका जोर्नी र मांसपेशीलाई बलियो बनाउँछन । यी अभ्यासहरु बिस्तारै–बिस्तारै गर्नु पर्दछ । साथमा ॐ को उच्चारणसँगै गर्ने गरेमा अझ लाभदायक हुन्छ ।
– अत्यधिक पीडा भईरहेको अवस्थामा मकराशनमा आराम गर्नु लाभदायक हुन्छ ।
– ढाडको नशा च्यापियर दुख्ने अवस्थामा अगाडि झुक्ने आसन सकेसम्म नगर्नु राम्रो मानिन्छ ।
– प्राणायाम,ध्यान, तथा खानपानले ढाडका मांसपेशीको तनावलाई कम गरी दुखाई कम गर्दछ ।
– ढाडको नसा च्यापिएको अवस्थामा वमन, धौती, कपालभातीका साथै पेटमा धेरै दवाब बढाउने अभ्यास गर्नु हुदैन ।
– योगमा होसपूर्वक तथा ध्यान दिएर गरिने हुँदा ढाडको पोजिशन संतुलित राख्न सहयोग गर्दछ ।
– योगले ढाड दुखाईसँगै आउने तनाव, चिंता, डर र अनिन्द्रा जस्ता कुरालाई कम गरि शरीमा स्फूर्ति ल्याउछ ।
ढाड तथा कम्मर दुखाईमा लाभदायक मुख्य आशनहरु यस्ता छन् :
मर्कटाशन :

यो आसनलाई मङ्कि पोज पनि भनिन्छ । यो एकदमै सजिलोसंग गर्न सकिने आशन हो । सबैभन्दा पहिले खुट्टा सीधा गरी आकाश तीर फर्केर भुइँमा सुत्ने । त्यसपछि दुबै खुट्टालाई खुम्चाएर हिपनजिक राख्ने । हात दाँया–बाँया काँधको समानान्तरमा सीधा हुनेगरी फैलाउने । त्यसपछि दुवै खुट्टाको घुँडा दाँया तर्फको भुइँमा राख्ने । यसमा कम्तिमा पनि १० सेकेन्ड राख्ने । टाउको बिपरित दिशामा घुमाउने र फेरि यसैको अर्को तर्फ गर्ने । यसलाई छिटो छिटो पनि गर्न सकिन्छ यसलाई दस पटक सम्म गर्न सकिन्छ । यो आसनले मृगौला, प्यान्क्रियाज र कलेजो सक्रिय बनाउँछ ।
सावधानी : यदि ढाडको हड्डीमा गम्भीर समस्या छ भने यो आशन गर्न हुदैन । गर्भवती महिलाले २ देखि ३ महिनापछि यो आशन गर्नुहुँदैन । हर्नियाको विरामी भएमा दक्ष योग शिक्षकको निर्देशनमा यो आशन गराउनुपर्छ ।
भुजंगाशन :

भुजंग भनेको सर्प हो । अंग्रेजीमा यसलाई कोब्रा पोज भनिन्छ । कम्मर दुखाईमा यो योगाशन अत्यन्तै लाभकारी हुन्छ । यसमा उत्तानो परेर सुत्ने, दुवै खुट्टा सीधा गरी मिलाउने र तन्काएर राख्ने । त्यसपछि दुबै हत्केला छातिको दायाँ –बायाँ राखेर पहिले टाउको, त्यसपछि छाती र अन्त्यमा नाभिको भाग माथि उठाउँने । यतिखेर लामो गहिरो श्वास लिँदै हातले भुइँमा दबाब दिँदै शरीरलाई नाभिसम्म उठाउने प्रयास गर्ने र आकाश तिर हेर्ने प्रयास गर्ने तथा केही बेर श्वास रोक्ने । त्यसपछि अब बिस्तारै श्वास छोड्ने् र पहिलेकै अवस्थामा आउने । यसलाई चार–पाँच पटक दोहोर्याउने । अझ ॐ उच्चारणसँगै गर्दा अझ लाभकारी हुन्छ ।
सावधानी : गर्भावस्था, महिनावारीको समयमा, हातमा समस्या भएको अवस्थामा तथा जोर्नी दुख्ने समस्या भएको बेला यो आशन गर्नु हुदैन ।
शलभाशन :

सर्बप्रथम पेटको भरमा सुत्ने । दुबै खुट्टा सीधा राखेर र दुबै हातलाई थाइको मुनि राख्ने । अर्थात्, आफ्नो दाहिने हात दाहिने तिघ्रा मुनि र बायाँ हात बायाँ तिघ्रा मुनि राख्ने । यसमा टाउको र मुख सीधा राख्ने र गहिरो श्वास लिने, तयसपछि आफ्नो दुबै खुट्टा माथि उठाउने प्रयास गर्ने । यो प्रक्रिया सुरु सुरुमा अलि असहज भएपनि बिस्तारै गर्न सकिन्छ । कम्तिमा १० सेकेन्डसम्म यो आशनमा बस्ने प्रयास गर्ने र पहिलेको अवस्थामा आउने । यसलाई चार पटक सम्म गर्ने ।
सावधानी : गर्भवती महिलाहरूले यो आशन गर्नु हुँदैन । यो आशन गर्दा मुखबाट श्वास फेर्नु हुँदैन । नाकबाट मात्र श्वास फेर्नु पर्छ ।
शवाशन :

अन्त्यमा शवाशनमा जाने । गहिरो लामो श्वास र प्रश्वास लिने । श्वास लिदाँ बाहिरबाट उर्जालिएको महशुस गर्ने र श्वास फाल्दा शरीर शिथिल भएको महशुस गर्ने ।
प्रतिक्रिया दिनुहोस्