नवलपरासी, अर्घाखाँची, जेठ ७ । ‘लकडाउन’पछि भारतबाट पश्चिम नवलपरासीमा आउनेको संख्या १२ सय बढी पुगेको छ । जसमा ५०० बढी ‘क्वारेन्टाइन’मा बसेर घर गएका छन् ।
बुधबार बिहानसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ६७६ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।
क्वारेन्टाइनमा बस्ने सबै भारतबाट आएका हुन् ।
सीमानाकाहरुबाट दैनिक ७० देखि १०० जनासम्म जिल्ला भित्रिने गरेको पालिकाहरुले जनाएका छन् ।
सातओटा स्थानीय तह रहेको नवलपरासीका चार गाउँपालिका भारतीय सीमासँग जोडिएका छन् ।
पछिल्लोपटक बुधबार सुस्ता गाउँपालिका–५ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बेलावानी स्वास्थ्यचौकीको क्वारेन्टाइनमा बसेका उनी भारतको मुम्बईबाट आएका हुन् ।
अर्घाखाँचीमा बुधबार ५८ जना भित्रिए
अर्घाखाँचीमा पनि बुधबार (आज)मात्रै भारतबाट ५८ जना नेपाली नागरिक भित्रिएका छन् ।
कृष्णनगर नाका हुँदै भित्रिएका उनीहरुलाई कपिलवस्तुबाट सम्बन्धित पालिकाको समन्वयमा बसको व्यवस्थापन गरेर ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।
भित्रने सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्