१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


कोरोना पुष्टि भएको २३ घण्टापछि दैलेखका संक्रमित युवाको उपचार शुरु


0
Shares

दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ ।

कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ ।

सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने विषयमा केही समय अन्योलता उत्पन्न भएको थियो ।

सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती माविमा निर्माण गरिएको आइसोलेशनमा राख्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सुरक्षा निकायको टोली मङ्गलबार दैलेखबाट आठबीस नगरपालिका हिँडेको थियो । 

स्वास्थ्य कार्यालय दैलेखले शनिबार ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको थियो ।

कोरोना सङ्क्रमणको आशङ्का गरिएका युवा ३५ दिनभन्दा धेरै समय भारतको वनवासामा बसेर दैलेख आएका थिए ।

उनीहरुलाई बनवासा नाकाबाट आठबीस नगरपालिकाले उद्धार गरी चैत ३१ गते दैलेखको आठबीस नगरपालिकाको सात्तला विद्यालयमा निर्माण गरिएको क्वारेँटायनमा राखिएको खोप तथा सूचना अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।

सङ्क्रमण भएको जानकारी पाएलगत्तै आठबीस नगरपालिकामा उच्च सतर्कता अपनाइएको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए ।

अहिले सात्तलामा रहेको क्वारेन्टिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

छिमेकी मुलुक भारतबाट दैनिक जिल्लामा भित्रिने नागरिकको सङ्ख्या बढ्दै गएपछि सुरक्षा सतर्कता बढाइएको छ ।