दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
काठमाडौं, जेठ ६ । नेपाल पत्रकार महासंघले उपत्यकामा कार्यरत् सञ्चारकर्मीहरुको कोरोना परीक्षण गराउन सुरु गरेको छ ।
तीलगंगास्थित महासंघको कार्यालय परिसरमा स्वास्थ्यकर्मीहरु बोलाएर सञ्चारकर्मीको ‘पीसीआर’ परीक्षण गर्न थालिएको हो ।
नेपाल पत्रकार महासंघको पहलमा मंगलबार १५० जनाभन्दा बढी पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
एक सञ्चारगृहबाट कम्तीमा दुईजना र बढीमा छजनासम्मको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिएको पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।
स्वाब दिन पुगेका पत्रकारहरुले ‘फ्रन्टलाइन’मा बसेर दैनिक काम गर्नुपर्ने सञ्चारकर्मीहरुको पीसीआर परीक्षण गर्नु जरुरी रहेको बताएका छन् ।
अरुलाई कोरोनाबाट बच्नका लागि सन्देश प्रवाह गर्ने सञ्चारकर्मीहरुकै स्वाब संकलन भने भद्रगोल थियो ।
स्वाब संकलनमा पुगेका पत्रकारहरुले नै सामाजिक दूरीको खिल्ली उडाएको पाइयो ।
महासंघका पदाधिकारीहरुले निरन्तर ‘माइकिङ’ गरिरहँदा पनि पत्रकारहरुले सुनेको नसुन्यै गरेर एकै ठाउँ झुम्मिएका थिए ।
महासंघका महासचिव विष्टले आफूहरुले आग्रह गर्दा–गर्दै पनि सञ्चारकर्मीहरुलाई सामाजिक दूरी पालना गराउन नसकिएको बताए ।
भारतलगायतका देशहरुमा पत्रकारहरुमा पनि संक्रमण फैलिएको छ । नेपालमै पनि उपत्यकाबाहिर केही स्थानमा पत्रकारहरुमा संक्रमण पाइएको छ । त्यसैले देशैभरका पत्रकारहरुको पीसीआर परीक्षण गराउनु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्