आगामी चुनावमा ‘युवा इन : बूढा आउट !’ « Imagekhabar – Online News Portal of Nepal
१९ आश्विन २०७९, बुधबार | Thu Oct 6 2022


आगामी चुनावमा ‘युवा इन : बूढा आउट !’


273
Shares

दलहरूको राजनीति विफल तर माथिल्ला नेताहरू प्रायःको ‘हाम्–नीति’ सफल जतिसुकै मथे पनि, सार आउने यही हो । आगामी मङ्सिरको संघीय÷प्रादेशिक चुनाव धेरै हिसाबले नौलो हुनेछ । यसका पूर्व चित्रहरू अहिलेदेखि देखिन सुरु गरे ।दुई दुईपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली कतिपय सवालमा अरू राजनीतिक पार्टीका नेताभन्दा धेरै बाठा लाग्छन् । ओभर स्मार्ट हुन मन पराउने ओली सार्वजनिक रूपमै अरूप्रति कटाक्ष र हल्का टिप्पणी गर्न औधी रूचाउँछन् । आफ्ना विरोधीमाथि उनी बारम्बार खनिन्छन् । आफूलाई एक्ल्याएको आक्रोशमा ओलीले नेकपाका पूर्व सहकर्मीहरूलाई ‘देशद्रोही’ कै संज्ञा दिनु त्यसैको पछिल्लो उदाहरण हो । केही दिनअघि ओलीले नेकपाका पूर्व पाँच नेतालाई देशद्रोहीको संज्ञा दिए । ती नेता हुन् –प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ।

तर प्रधानमन्त्री भैसकेका सम्माननीय नेताले राजनीतिक स्वार्थ नमिल्दा अमर्यादित र आपत्तिजनक अभिव्यक्ति दिनुलाई नागरिकले भने कसरी बुझ्ने हुन् ?‘लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरूको अपमान गरेको’ भन्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेलाई ‘भँडुवा’ भने । यसैगरी छुद्र वचन गर्दै गए भने रविको पार्टीको निःशुल्क चुनावी प्रचारप्रसार ओली स्वयम्ले गर्दिने छन् जसले उनकै पार्टीको भोट कटिने पक्कापक्की छ ।

एमाले अहिले माओवादी र समाजवादी दुवै पूर्व सगोत्री पार्टीहरूलाई चुनावको एलेभेन्थ आवरसम्म पनि फकाउने रणनीतिमा लागेको छ । अहिलेको वैचारिक बेमेल भनेको ‘युवा भर्सेज बूढा’ को हो । यतिखेर काँग्रेस, एमाले, समाजवादी र राप्रपाहरू सबै पुराना खिया लागेका गोल्टिनजस्ता लाग्छन् जो ठोस वस्तु हाल्न चाहिँ सकिने तर तरल वस्तु हाल्दा नदेखिने प्वालहरूबाट चुहिने भाँडा भएका छन् । एकातिर टाल्यो अर्कोतिर प्वाल बन्ने । पार्टीका क्याडर र पद पाएका केही लाख अपवादका युवाहरूबाहेक अहिले पढेलेखेका, चुस्तदुरूस्त, प्रविधिमा पोख्त र ट्यालेन्ट जो कोही व्यक्ति न काँग्रेसको सिद्धान्त रटान गर्न चाहन्छन्, न एमालेको कार्यशैलीप्रति हनुमानगिरी नै गर्छन् । उनीहरू राप्रपा, जनता समाजवादी पार्टी र रवीन्द्र मिश्रसँग पनि खुसहाल देखिँदैनन् । त्यसैले युवाहरू सबै क्रियाशील राजनीतिक पार्टीका बूढा नेता विरुद्धमा आगामी चुनावका लागि भित्रभित्र क्याम्पेन गरिरहेका छन् । खासमा युवाहरूले अहिले चाहेको भनेको शासकीय प्रतिनिधिहरूमा आफूजस्तै युवाहरूको उपस्थिति हो । गएको स्थानीय तहको चुनावमा देशैभरि कूल ४१ प्रतिशत युवाहरूले विभिन्न पदमा जितेका थिए । त्यसैले आगामी मङ्सिर ४ को संघीय र प्रादेशिक चुनावमा बूढापाकाको सत्ता पल्टाएर युवाहरूलाई शासकका रूपमा हेर्न चाहेका हुन् ।

उमेरजन्य मात्र नभएर सोच, कार्यशैली, अध्ययन र प्रविधिमा समेत युवा र प्रौढमा आकासपातालको अन्तर छ । रमाइलो कुरा त के भने अहिले राजनीतिको फ्रन्ट लाइनमा देखिएका सबैजसो नेताहरु ६५ माथि ८० तल उमेरका देखिएका छन् । लोसपाका नेता महन्थ ठाकुर (८० वर्ष) का छन् भने प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा (६५ वर्ष) का छन् । यी अनुहारहरुलाई चालीस नकटेका युवाहरु जुनसुकै हालतमा पनि मङ्सिरपछि घर पठाउन चाहन्छन् । यही द्वन्द्वले नै यो चुनावलाई रिङ्ग्याएको छ ।

नेपालमा वैकल्पिक राजनीतिले युवा सेन्टिमेन्टलाई मज्जाले क्यास गर्न सक्थ्यो तर वैकल्पिक राजनीतिका नायक भनिनेहरुले क्रमशः बाटो बिराए । डा. बाबुराम भट्टराईको अस्थिर राजनीतिक यात्रामा युवाहरुले आफ्नो अनुहार देख्न सकेनन् भने रवीन्द्र मिश्रजस्ता सिद्धान्तका पण्डित पनि ‘विचारभन्दा माथि देश’ भनेरै वयेलिए । माक्र्सवाद र प्रजातान्त्रिक समाजवादको रटानमा जनतालाई दिनु पर्ने सामान्य डेलिभरीका कुराहरुमा पनि काँग्रेस र एमालेहरु चुके ।

जापानको भ्रमणमा रहेका बेला माओवादी अध्यक्ष प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायमाझ ‘जापानको पूर्व प्रम सिन्जो आबे नेपाल आउँदा दुई तीनपटक कुरा भन्न समेत भ्याए । तर पछि उनले त्यसलाई सच्याए । ।’ प्रचण्डको हाँस उठ्दो कुरो सिन्जो आबे प्रधानमन्त्री हुँदा न अघि न पछि नेपालै आएका थिएनन् । जे बोल्दा हुने भन्ने रोगले नेपाली नेताको यो स्तरहीनता देखाउँछ । बरू ओली भाँती पु¥याएर ढाँट्छन् तर प्रचण्ड कसोकसो फुस्किहाल्छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ‘अबको पाँच वर्षपछि आफू सक्रिय राजनीतिबाट विदा हुने तर यो पटक जसरी पनि चुनाव जितेर देखाउने’ कुरा गर्दा नागरिक हाँस्छन् । उनी स्वयमले पार्टीमा अलमल गर्नाले चुनावी रणनीति बनाउन क्रमशः चुकिरहेको भन्ने विश्लेषण भैरहेको छ ।

उता अस्थिर नेता समेतको पगरी गुतेका डा.बाबुराम भट्टराईले आफू अलग भएको ‘जसपाका नेता सङ्कीर्णतावादी र क्षेत्रीयतावादी सोच भएकाले पार्टी छाडेको’ भन्ने तर्कसहित नेपाल समाजवादी पार्टी स्थापना गरेका छन् जसको उपाध्यक्षमा हिसिला यमी र दसौं नम्बरकी केन्द्रीय सदस्यमा छोरी मानुषी यमी भट्टराई रहेकी छिन् । डा.बाबुराम भूपू प्रधानमन्त्रीहरूमध्ये तुलनात्मक रूपमा क्षमता प्रमाणित गरेका अब्बल थिए । तर अबचाहिँ पूर्णरूपमा समाप्तै भए । उनले च्याँखे थाप्नैका लागि पार्टी गठन गरेका हुन् । उनको पार्टीले समाजवादी केन्द्र बनाउने वामपन्थीहरूको सोचलाई मद्दत गर्यो भने राम्रै होला तर गोरखा र सर्लाहीमा मात्रै सिमित हुने दुई सिटे पार्टी हुने डर बढ्ता छ ।

नेताहरूका यस्तै कार्यशैलीका कारण आगामी चुनावमा युवाहरूले ‘नो नट एगेन’ भन्ने फेसबुक क्याम्पेन थालिसके जसमा देउवा, प्रचण्ड, माधव, झलनाथ, ओली र बाबुरामलाई कुनै हालतमा पनि यो पटक चुनाव जिताउनु हुँदैन भन्ने नारा तय गरेका छन् । त्यस्ता क्याम्पेनलाई भित्तामै पु¥याउने गरी जवाफ दिनमाहिर प्रतिपक्षी नेता ओलीले भनेछन् –‘स्वतन्त्रले चुनाव जित्न संसारका सबै मानिस पागल हुनुपर्छ, दलीय प्रणाली विना देश अगाडि बढ्दैन ।’ सुन्दा खरो लागे पनि यो निषेधवादी चिन्तन हो । जतिजति ओली बक्दै जान्छन् उतिउति उनको पल्ला हलौं हुँदै जान्छ । उता निर्वाचन आयोग गठबन्धनले एउटै चुनाव चिन्हबाट लड्न पाउने व्यवस्था गर्र्दैछ । यदि यसो भयो भने आउँदो चुनाव पाँचदलीय गठबन्धन भर्सेज एमालेका बीचमा मारामार शैलीमै हुनेछ ।

एमाले कमजोर छैन जति गठबन्धनले आँकेका छन् । उसले निर्वाचनमा नागरिकता मुद्दा, सिमाना मुद्दा, बेरोजगार मुद्दा, रासायनिक मल मुद्दा र महँगीका मुद्दालगायत मध्यमवर्गीय नागरिकका सपनाको ड्राफ्ट गर्दै पाँच दललाई उछिन्न खोज्ने ट्रिक लगाउन सक्छ । युवाहरूले ६ जना बूढा नेताहरूलाई ठाउँका ठाउँ रोक्न र चुनाव हराएर घर पठाउन ‘घोषणा पत्रमा सम्भव÷असम्भव जेजस्ता मुद्दाहरू उठाए पनि तिनीहरूलाई पाँच वर्षमा पूरा गर्न देशका स्रोत केके हुन् ?’ भन्ने प्रश्न युवाहरूले चौतर्फी रूपमा उठाएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र उपचारका लागि दिल्ली गएकी कँग्रेसनेतृ आरजू राणाबीच भारतीय संस्थापन पक्ष साक्षी राखेर आगामी चुनावपछि ‘आरजू र प्रचण्डबीच आधाआधा समय सत्ता उपभोग गर्ने सम्झौता भएको’ भन्ने खबरले चुनावपछि नेपाली राजनीतिले यु टर्न लियो भने अचम्म मान्नु पर्दैन ।

यी राम रमिताले मङ्सिर ४ को चुनावमा केही अनपेक्षित परिणाम हात लागे भने अन्यथा नलिँदा हुन्छ ।