Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


काठमाडौंको कपन क्षेत्रमा विशेष सतर्कताः मासु पसल बन्द, विनाकाम हिँडडुल गरे जरिवाना


0
Shares

काठमाडौं । काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएसँगै सो क्षेत्र सिल गरी अन्य क्षेत्रमा विशेष सतर्कता अपनाइने भएको छ ।

बूढानीलकण्ठ– १०, ११ र १२ ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दैँ कोरोना संक्रमण देखिएको १२ नं वडा बन्द गर्ने  र अन्य क्षेत्रमा विशेष सतर्कता अपनाउने जनाएका छन् । कपन क्षेत्रका तीन वडाले पनि उक्त क्षेत्रमा खुला तरकारी तथा फलफूल बिक्रीवितरण पूर्ण रोक लगाउने निर्णय गरेका छन् ।

बन्दाबन्दीका बेला कुनै  वडाभित्र बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सूचना नदिई लुकाइछिपाई गरेमा त्यस्ता व्यक्ति तथा घरधनीलाई कारबाही गरिने चेतावनी दिइएको  छ । सूचना दिने व्यक्तिलाई प्रोत्साहनस्वरुप रु पाँच सय  दिने व्यवस्थासमेत  छ ।

यसैगरी सो क्षेत्रका मासु पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै अत्यावश्यक सेवा प्रदान गर्ने सवारी साधनले मानिस ओसारपसार गरेको पाइएमा कारबाही गरिने जनाइएको छ ।

अत्यावश्यक नभई विनाकाम घर बाहिर निस्केको तथा हिँडडुल गरेको थाहा भएमा कानूबमोजिम बन्दाबन्दी उल्लंघन गरेको ठहर गरी रु पाँच सय जरिवानासहित कारबाही अघि बढाइने बताइएको छ ।

साथै नगरपालिकाले तोेकेकोबाहेकका व्यवसाय  तोकिएको समयबाहेक अन्य बेला सञ्चालन गरेमा कानूनबमोजिम कारवाही तथा रु एक हजार जरिवाना गरिने नगरपालिकाले जनाएको छ । रासस