रामपुर क्याम्पसमा विद्यार्थीद्वारा रिले अनसन सुरु « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


रामपुर क्याम्पसमा विद्यार्थीद्वारा रिले अनसन सुरु


221
Shares

चितवन । क्याम्पस प्रमुखमा मिलन सुवेदीलाई पुनः नियुक्ति गरेको विरोधमा रामपुर क्याम्पसका नेपाल विद्यार्थी संघ, क्याम्पस इकाई समितिका विद्यार्थीले रिले अनसन सुरु गरेका छन् ।

उपकुलपतिको कार्यालय र कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत डीनको कार्यालयले विद्यार्थीको मागलाई बेवास्ता गर्दै अस्थायी क्याम्पस प्रमुखमा सुवेदीलाई नियुक्ति गरिएकोप्रति आपत्ति जनाउँदै शुक्रबारबाट रिले अनसन थालेका हुन् । यो उनीहरूको चौथो चरणको आन्दोलन हो ।

रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नुपर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै नेविसंघको विरोध गर्दै आएको छ ।

यसअघि संघले क्याम्पस प्रशासन, डीनको कार्यालय र उपकुलपतिको कार्यालयलाई विज्ञप्तिमार्फत सतर्क गराउने, क्याम्पस प्रमुखको नियुक्ति खारेज गर्न अल्टिमेटम दिँदै रामपुर क्याम्पस र डीनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने तथा पठनपाठन ठप्प पार्दै तालाबन्दी र कालोपट्टी बाधेर विरोध प्रदर्शन गरेको थियो ।

आफूहरूको मागलाई बेवास्ता गर्दै अस्थायी नियुक्ति पाएका क्याम्पस प्रमुख सुवेदीले आन्दोलन असफल पार्न खोजेको संघका अध्यक्ष सुरज यादवको दाबी छ । आन्दोलन कै कारण पठपाठनमा अवरोध नपुर्याउने विद्यार्थी नेताको भनाइ छ ।

तर, रामपुर क्याम्पसको प्रशासनिक भवन र कीर्तिपुरस्थित डीनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दीको कार्यक्रम भने कायमै राख्ने नेवि संघ, रामपुर क्याम्पस इकाई समिति सचिव आशिष देवकोटाले जानकारी दिनुभयो ।

आफ्ना माग सम्बोधन नभए अझ सशक्त आन्दोलनका कार्यक्रम ल्याउने उहाँको भनाइ छ ।