३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


अर्थतन्त्र अगाडि बढाउन विदेशमा रहेको नेपालीको ठूलो भूमिका : अध्यक्ष दाहाल

‘विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन प्रयासरत छौं’

234
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको योगदानले देशको अर्थतन्त्रलाई अगाडि बढाउन ठूलो भूमिका खेलेको बताउनुभएको छ ।

जापानको फुकोकामा भएको नेपाल फेस्टिबलमो उद्घाटन गर्दै उहाँले विदेशमा रहेका नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप र पुँजीले नेपालको विकासका लागि प्रयोग हुँदै आएको र आगामी दिनमा पनि अझ बढी प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले गैरआवासीय नेपालीहरुले नेपाली नागरिकता पाउने विधेयक दुवै सदनबाट पारित भइसकको जानकारी गराउँदै विदेशमा रहेका नेपालीहरूलाई निर्वाचनमा मतदानको अधिकार दिलाउने प्रयासमा लागिरहेको बताउनुभयो ।

जापानमा रहँदा आफूले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ गर्ने तथा दुई पक्षीय आर्थिक र अन्य सहयोगलाई अझ प्रवर्द्धन गर्नका लागि केन्द्रीत हुने जानकारी गराउनुभयो ।

अध्यक्ष दाहालले नेपाल रहँदा आफूले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग विभिन्न माध्यमबाट कुराकानी र सम्पर्क हुने गरेको स्मरण गर्दै जापानमा आएको बेलामा एकपटक प्रत्यक्ष भेट्ने कुरा पनि जापानी दूतावासमार्फत पुर्याएको बताउनुभयो ।

आफूहरूको ध्यान राजनीतिक स्थायित्व, विकास र समृद्धितर्फ कसरी लैजाने भन्नेतर्फ रहेको उहाँले बताउनुभयो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि स्थिर र बलियो सरकार गठन हुने भन्दै उहाँले आर्थिक विकासलाई प्राथमिकता राख्ने उहाँले बताउनुभयो ।