पेटको मोटोपन घटाउन गरिने योगाशन « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


पेटको मोटोपन घटाउन गरिने योगाशन


533
Shares

चन्द्र कटुवाल
मोटोपन पनि रोग हो । आजभोलि रोग भगाउन योग भन्न थालिएको छ । योगले पेटको बोसो कम गर्नमा निकै मद्दत गर्दछ । दैनिक कार्यतालिकामा योगलाई समाबेश गर्नु भनेको स्वस्थ रहनको लागि सबैभन्दा राम्रो उपाय अंगाल्नु हो । दिनदिनै योगलाई जीवनशैलीको रुपमा अंगाल्न थालिएको छ । हुन त एकै आशनका सयौं फाईदा हुन्छन । तर पनि यसमा विशेष गरेर पेटको बोसो घटाउने अर्थात बेलिफ्याट कम गर्न निकै उपयोगी आशनहरु यस्ता छन् ।

१. पादहस्ताशन

यो आशनमा सर्वप्रथम दुबै खुट्टालाई जोडेर सिधा उभिने । हातलाई सिधा माथि गर्ने । बिस्तारै अगाडितर्फ झुक्ने । जति सकिन्छ तल तर्फ झुक्ने । हातले खुट्टालाई छुन कोसिश गर्ने, तर सुरु सुरुमा जबर्जस्ती नगर्ने । सुरुमा थोरै– थोरै झुक्ने कोसिश पनि गर्न सकिन्छ । शिरले घुडालाई छुन कोसिस गर्ने । तर ढाड तथा कम्मरका बिरामीले यो आशन गर्दा ध्यान दिनु पर्दछ ।

यसलाई बिस्तारै होल्ड गर्ने गर्नु पर्दछ । साथै छिटो छिटो पनि गर्न सकिन्छ । छिटो छिटो गरेमा १० पटक सम्म गर्दा राम्रो मानिन्छ । साथै होल्ड गरेर गर्ने हो भने दुईपटक भन्दा माथि गर्दा उत्तम हुन्छ । सकेसम्म होल्ड गर्ने समय लम्याउँदै जानु पर्दछ ।

सुरु सुरुमा होल्ड गर्न गार्हो भएपनि अभ्यास गर्दै जाँदा होल्ड गर्ने अबधि पनि बढ्दै जान्छ । अत्यधिक ठूलो पेट भएमा अगाडि झुक्दा कुनै सामाग्रीको पनि सहयोग लिन सकिन्छ । बिस्तारै बानी परेपछि बीना सामाग्री गर्न सकिन्छ । उदाहरणको लागि सुरुमा अगाडि झुक्न अप्ठ्यारो भएमा थोरै झुकेर भित्ताको सहारा पनि लिन सकिन्छ वा झ्याल ढोकाको डन्डिको सहयोगले पनि गर्न सकिन्छ ।

यसका फाईदाहरुमा पेटको बोसोलाई घटाउछ । तनाव व्यवस्थापनमा सहयोग गर्दछ । शरीरलाई तन्काउन सहयोग गर्दछ । लचकता बढाउछ । मृगौला तथा कलेजोलाई फाइदा पुग्छ ।

२. बक्राशन

सर्वप्रथम दण्डासनमा बस्ने, अर्थात खुट्टा सिधा पारेर बस्ने । बिस्तारै दाहिने खुट्टा खुम्चाउँने । बायाँ खुट्टा सिधा राख्ने । दाहिने हातलाई पछाडि लगेर हत्केला टेकेर बस्ने । स्वास बाहिर फ्याक्दै दाहिने खुट्टालाई भित्र च्याप्ने अर्थात पेटमा दबाब दिने । बायाँहातलाई ज्ञानमुद्रामा राखेर दायाँ घुडामाथि राख्ने । शिरलाई जति सकिन्छ दायाँतर्फबाट पछाडि तर्फ लैजाने ।

आशन तयार भएपछि कम्तिमा पनि ३० सेकेन्ड जति होल्ड गर्न कोसिस गर्ने । पुन: अर्को तर्फ गर्ने अर्थात अब बायाँ खुट्टा खुम्चाएर बायाँहात पछाडि लगेर टेक्ने । योग गर्दा जहिले पनि ब्यालेन्स गर्नु पर्दछ, जति दायाँ गरियो त्यति नै बायाँ गर्ने । यसलाई दुई पटक भन्दा बढि गर्ने ।

बक्राशनले पेटको बोसो घटाउनुका साथै पाचन प्रणाली मजबुत बनाउने काम गर्छ । मधुमेहका बिरामीको लागि यो निकै उपयोगी हुन्छ । यसका तनाव कम गर्ने लागयतका अनगिन्ति लाभ रहेका छन ।

३. नौकाशन

सबैभन्दा पहिले दण्डासनमा बस्ने । बिस्तारै ब्यालेन्स गर्दै दुबै खुट्टालाई जोडेर माथि उठाउने । हातलाई दायाँबायाँ सिधा बनाएर तन्काउने । दुबैहात खुट्टातर्फ सिधा पार्ने । शिरको र खुट्टाको उचाई बराबर पार्ने । अर्थात डुङ्गा जस्तै बन्ने । सुरु सुरुमा गाहो भएमा खुट्टामा डोरीलगाएर हातले समाउदै ब्यालेन्स गर्ने । बिस्तारै बानी परेपछि डोरी चाहिँदैन । यसलाई पनि बिस्तारै होल्ड गर्ने । अभ्यास गर्दै जाँदा होल्ड गर्ने समय पनि लम्व्याउँदै जाने । कम्तिमा पनि दुई पटक गर्ने अर्थात त्यो भन्दा धेरै पटक पनि गर्न सकिन्छ ।

यसका फाईदाहरुमा बेलिफ्याट कम गर्नमा निकै उपयोगी हुनुका साथै तनाव व्यवस्थापन, शरीरमा पुनर्ताजगि प्रदान गर्दछ ।

४. अर्धहलासन

सबैभन्दा पहिला उत्तानो परेर सुत्ने । दुबै हातलाई हत्केला भूँईतर्फ पारेर खल्ती नजिक सिधा पारेर राख्ने । बिस्तारै दुबै खुट्टा ९० डिग्रिमा उठाउने र खुट्टाको बुढी औंलातर्फ हेर्ने । बिस्तारै होल्ड गर्दै लैजाने । सुरु सुरुमा भित्ताको सहाराले पनि गर्न सकिन्छ । डोरी लगाएर पनि गर्न सकिन्छ । तर सकेसम्म चित्रमा देखाएजस्तै गर्दा उत्तम हुन्छ । कम्तिमा पनि दुईपटक गर्ने । त्यो भन्दा माथि गर्दा उत्तम हुन्छ ।

यसका फाईदाहरुमा पेटको बोसो घटाउने लगायत कोर मसल मजबुद पार्ने, पाचन शक्ति बलियो पार्ने, तनाव व्यवस्थापन लगायत रहेका छन् । अन्त्यमा दुबै गोडालाई भुईमा राखिदिने । हत्केलालाई आकाश तर्फ पारेर शरीरभन्दा अलि टाढा राख्ने अर्थात शवाशनमा जाने । हरेक योगको अन्त्यमा शवाशन गर्ने । शरीरलाई आराम दिने । शरीरलाई जागरुक बनाउने तथा आरामदिने दुबै गर्नु पर्दछ । शवाशनमा गहिरो लामो श्वास तथा प्रश्वास गर्ने र आराम भएको महशुस गर्ने ।