Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


नीति तथा कार्यक्रम प्रस्तुतिमा देखियो विगतभन्दा फरक दृष्य (भिडियो)


0
Shares

मीरा बस्नेत (इमेज)

काठमाडौं, जेठ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा विगत वर्षभन्दा केही फरक दृश्यहरु देखियो ।

विगतको गल्ती सच्याउनेदेखि नयाँ प्रयोग पनि गरेको देखियो ।

गत वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने वाक्य १८ पटक उच्चारण गरेकी थिइन् ।

त्यसको चौतर्फी विरोध भएपछि यसपटक त्यो वाक्य करिब साढे दुई घन्टा कहीँ–कतै उच्चारण गरिएन ।

बरु, राष्ट्रपति प्रस्तुतिमा धेरैओटा वाक्यहरु उच्चारणमा अलमलिइन् । लामो र ढिलो प्रस्तुतिको सामाजिक सञ्जालमा समेत आलोचना भयो ।

कोरोना संक्रमणको त्रासकाबीच भएको नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा यसपटक राष्ट्रपति भण्डारीलाई संसद भवन लग्दा विगतमा जस्तो घोडचढी (रिसल्ला) प्रयोग भएन ।

अघिल्ला वर्षहरुमा बबरमहलदेखि रिसल्लामा संसदसम्म लाने गरिएकामा यसपटक गाडीमै संसद पुर्‍याइयो ।

उसो त कोरोना संक्रमणको त्रासका कारण स्वागतका क्रममा राष्ट्रपतिलाई फूलगच्छा दिने प्रचलन पनि तोडियो ।

सभामुख र राष्ट्रियसभा अध्यक्षलगायतले नमस्कार गरेर भण्डारीको स्वागत गरे ।

भण्डारीलाई स्वागतका लागि संसदमा पानीको फोहोरा, ध्वजापताका र राष्ट्रिय झन्डा फहर्‍याइएको देखियो । उनलाई कडा सुरक्षाबीच स्वागत र बिदाइ गरियो । यस्तै, सलामी पनि दिइयो ।

संसद भवन प्रवेश गर्दासम्म मास्क र पञ्जा प्रयोग गरेकी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा भने मास्क खोलिन् ।

संक्रमणको जोखिमकै कारण यसपटक अतिथिहरुलाई निमन्त्रणा नै दिइएन अर्थात् पूर्वसांसददेखि विभिन्न देशका राजदूत, उद्यमी–व्यवसायीले संसदमै पुगेर नीति तथा कार्यक्रम सुन्न पाएनन् ।

भिडियो हेर्नुहोस्