Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


तीनपाटन गाउँपालिकामा जैविक प्रविधिबाट भू-संरक्षण सुरु


377
Shares

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाले जैविक प्रविधिबाट भू-संरक्षणकाे काम सुरु गरेको छ ।

केही दिन यता लगातार वर्षा भइरहेको समयमा भिराला पाखाहरु र पहिरो जान सक्ने भू-भागको संरक्षणका लागि यस्ताे काम गरेकाे तीनपाटन गाउँपालिकाले जनाएकाे छ । तीनपाटन गाउँकार्यपालिका कार्यालयको पहलमा निर्माणाधिन कार्यालय भवन आसपासका क्षेत्र लाम्पान्टार र चकमकेका विभिन्न स्थानमा बाबियो, बाँस, खर र काँस जस्ता पहिरो प्रतिरोधात्मक जैविक वनस्पतिका ५ सय बेर्नाहरु रोपिएको हो

लगातार वर्षा भइ रहँदा सरकारी कार्यालय, निजी आवास तथा उर्वराखेती योग्य जग्गा जमिनको संरक्षण गर्न तथा वातावरणीय सन्तुलन कायम राख्नका लागि स्थानीय स्तरमै पाईने कम खर्चमा हुने जैविक प्रविधिको उपयोग गरिएको तीनपाटन गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनुभयो ।

साेही पालिकाले सेती पहिरो, सिन्धुलीमाडी–चकमके सडक क्षेत्र र विभिन्न वडाहरुमा भू-क्षय रोकथाम गर्न जैविक प्रविधिको उपयोगमा स्थानीयलाई प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएकोे छ ।

तीनपाटन गाउँपालिकामा पर्ने सिन्धुली जिल्लाकै सबै भन्दा ठूलो र लामो समयसम्म रोकिन नसकेको पहिरोले सोही पालिकाको बेलघारी, भिमस्थान र चकमकेका साथै चदाहा नदी आसपासमा विगत लामो समयदेखि नदी कटान गरेकाे छ । साथै भू-क्षय गर्दा हजारौं बिघा खेतीयोग्य जग्गाको नदी कटान र मानव बस्ती समेत जोखिममा पारेको छ ।