बाँके । नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ ।
जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।
गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आठ पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यो सँगैं बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ ।
उनका अनुसार सङ्क्रमित सबै भारतबाट आएका हुन् । उनीहरुको यसअघि नेपालगञ्जमा भेटिएका सङ्क्रमितसँग सम्पर्क नरहेको पाइएको छ ।
सङ्क्रमितलाई उपचारका लागि नेपालगञ्ज ल्याउने तयारी भएको छ । नरैनापुरमा भारतबाट आएका ४ सय ४१ जना क्वारेन्टाइनमा छन् ।
पछिल्लो समयमा भारतका विभिन्न ठाउँबाट बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकै पटक आठ जनामा कोरोना पुष्टि भएकाले अझै सजगता आवश्यक देखिएको श्रेष्ठले बताए ।
नरैनापुर गाउँपालिकामा पछिल्लो तीन दिनमा मात्रै ४ सय ७ जना भारतबाट भित्रिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
उनका अनुसार भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासीलाई गाउँपालिकाले सीमाबाट उद्धार गरेर १० वटा क्वारेन्टाइनमा राखेको छ ।
क्वारेन्टाइनमा आएर बसेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्