Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै


0
Shares

महोत्तरी । लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ ।

जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर घेराबेरा लगाइन थालिएको छ ।

जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित छ स्थानीय तहको सीमा भारतसँग जोडिएको छ । भारततर्फ सीमा क्षेत्रसँग मधुवनी र सीतामढी जिल्ला जोडिएका छन् ।

“मधुवनी र सीतामढीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ, भारतले रेलसेवा सञ्चालन गरेसँगै यता लुकिछिपी भित्रिनेको सङ्ख्या बढ्दै गएको जानकारी पाइएपछि घेराबेरा शुरु गरिएको हो”, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, “यो अस्थायी घेराबेराले पनि आवागमन नियन्त्रण गर्न सघाउने विश्वास छ ।”

सीमा क्षेत्रमा घेराबेरा थालिएसँगै सुरक्षा गस्ती पनि बढाइएको जिल्ला प्रशासनले जनाएको छ ।

पछिल्लोपटक महोत्तरी र धनुषामा पाइएका सङ्क्रमितमध्ये  केही भारतको मधुवनी र सीतामढीबाटै यता छिरेका पाइएको छ ।

जिल्लाको भारतसँगको सीमा क्षेत्रमा कतिपय ठाउँमा जोडिएका बस्ती, दोहोरो सामाजिक–सांस्कृतिक सम्बन्ध र कतिपय सीमा क्षेत्रका दुवैतर्फ रहेका सघन बगैँचाबाट लुकीछिपी आउने जानेलाई सजिलो बनेको देखिँदैछ । 

 

Skip This