रोमन आचार्य र भरत केसी (इमेज)
काठमाडौं, जेठ १ । छिमेकी मुलुकसँगको सीमामा सैन्य बलको कमजोर उपस्थितिले नेपाली भूमि निरन्तर अतिक्रमणमा परिरहेको छ ।
अर्धसैन्य बल सशस्त्र प्रहरीको जिम्मेवारी सीमा सुरक्षाको भए कुल जनशक्तिको १५ प्रतिशतमात्र सीमा सुरक्षामा खटिँदा सेना परिचालनको माग भइरहेको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सैन्य बलको कमजोर उपस्थिति छ । जसका कारण भारतीय पक्षबाट सीमा अतिक्रमण भइरहेको छ ।
करिब ३७ हजार २०० जनशक्ति रहेको अर्धसैन्य बल सशस्त्रको मुख्य जिम्मेवारी सीमा रक्षा हो । तर, नेपाल–भारत एक हजार ८८० किलोमिटर लामो खुला सीमामा ६ हजारको हाराहारीमा मात्र सशस्त्रको जनशक्तिले काम गरिरहेको छ । बाँकी जनशक्तिलाई अनावश्यक क्षेत्रमा सक्रिय बनाइएको छ ।
पञ्चायतकालमा सीमा सुरक्षा गर्न सीमा सुरक्षा कार्यालय बनाइएको थियो । तर, समयक्रमसँगै त्यसलाई निस्क्रिय बनाएर सुरक्षाको जिम्मा प्रहरीलाई दिइयो ।
तर, २०६४/६५ सालपश्चात् अर्धसैन्य बल सशस्त्र प्रहरीलाई सीमा रक्षाको महत्वपूर्ण जिम्मेवारी सुम्पिइएको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी सशस्त्र प्रहरीकोे संरचना नै सीमा रक्षाका लागि भएको तर्क गर्छन् ।
भारतले निरन्तर जमिन मिच्दा सेना परिचालन गर्नुपर्ने माग भइरहेको छ । सेनाका पूर्वरथी डा. प्रेमसिंह बस्न्यात परिस्थिति जटिल नभएसम्म सेना परिचालन सम्भव नभएको बताउँछन् ।
सशस्त्र प्रहरीका पूर्वप्रमुख सनतकुमार बस्नेत जनशक्ति तथा स्रोत–साधनको अभावमा सीमा रक्षामा समस्या भएको बताउँछन् ।
२०५७ सालमा माओवादी विद्रोह नियन्त्रण गर्न अर्धसैन्य बल सशस्त्र प्रहरीको स्थापना गरिएपनि अहिले सशस्त्र बललाई सीमा रक्षाको जिम्मा दिइएको छ । तर, राज्यले सशस्त्र प्रहरीलाई सीमामा केन्द्रित गर्न सकेको छैन ।
२०६२ सालदेखि भन्सारको गस्ती, ‘भीआइपी’को सुरक्षालगायतको जिम्मा दिएपछि सीमामा उसको उपस्थिति कमजोर बनेको हो ।









प्रतिक्रिया दिनुहोस्