नवलपुरमा एक वर्षमा एक हजार उद्योग थप « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


नवलपुरमा एक वर्षमा एक हजार उद्योग थप


91
Shares

नवलपुर । जिल्लामा एक वर्षमा एक हजार नयाँ उद्योग थपिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५० वटा नयाँ उद्योग थपिएका हुन् ।

गत आर्थिक वर्षमा थपिएका उद्योग मध्य ८ वटा लघु उद्योग, ४ वटा घरेलु उद्योग र १ हजार ३८ वटा साना उद्योग रहेको कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो ।

जिल्लामा थपिएका उद्योग मध्य धेरै जसो कृषि तथा वन पैदावारमा आधारित उद्योग रहेको उहाँको भनाइ छ । यो बाहेक सेवामुलक र पर्यटन सम्बन्धी उद्योग नवलपुरमा थपिने क्रम धेरै रहेको कार्यालय प्रमुख खनालले बताउनुभयो ।

गत आर्थिक वर्षमा थपिएका उद्योग मध्ये कृषि तथा वन पैदावारमा आधारित उद्योग मात्रै ६ सय ३८ वटा रहेका छन् । यस बाहेक सेवामूलक उद्योगमा २ सय ६५, उत्पादन मूलक उद्योग ८२, पर्यटन उद्योगमा ६४ र ऊर्जामूलक उद्योग १ थपिएका हुन् ।

गत आर्थिक वर्षमा १ हजार ५० उद्योग थपिएसँगै नवलपुरमा स्थापना भएका उद्योगको संख्या ६ हजार ३०९ पुगेको छ ।