बिराज रोस्यारा (इमेज)
कैलाली, वैशाख ३१ । कैलालीको अत्तरियास्थित विजयनगर टोललाई बुधबार ‘सिल’ गरिएको छ ।
कन्चनपुरबाट अत्तरिया हुँदै काठमाडौं गएकी ३३ वर्षीया महिलामा कोरोना देखिएपछि उनी बसेको विजयनगर टोललाई सिल गरिएको हो ।
यही वैशाख २८ गते कन्चनपुरको वेदकोट नगरपालिका–१० बाट काठमाडौंतर्फ जाँदा उनी अत्तरियामा बसेकी थिइन् ।
उनी गोदावरी नगरपालिका–१, अत्तरियाको सशस्त्र बाहिनीअगाडिको घरमा करिब दुई घन्टा बसेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले पुष्टि गरे ।
सशस्त्र प्रहरीबाट अवकाश पाइसकेकी ती महिलाले यसअघि अत्तरियामै रहेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर–७, बैद्यनाथ बाहिनीमा समेत काम गरेकी थिइन् ।
बाहिनीमा काम गर्दा स्थानीयसँग भएको परिचयका कारण उनी काठमाडौं जानुअगाडि भेटघाट गर्ने भनेर बाहिनीअगाडि रहेको घरमा पसेकी थिइन् ।
स्थानीयकाअनुसार उनले त्यहाँ करिब दुई घन्टा बस्दा चाउचाउ र नजिकैको डेरीबाट लस्सीसमेत खाएकी थिइन् ।
कन्चनपुरबाट काठमाडौं गएकी ती महिलामा मंगलबार कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।
काठमाडौंमै बस्दै आएकी उनी चैत ६ गते काठमाडौंबाट कन्चनपुर पुगेकी थिइन् । त्यसपछि वैशाख २८ गते एक छोरा र एक छोरीसँगै सशस्त्र प्रहरीकै भ्यानमा काठमाडौं फर्किएको भएपनि अरुमा भने कोरोना संक्रमण देखिएको छैन ।
उनीसहित छोरा–छोरी गरी तीनजना र भ्यानमा रहेका अरु दुईजना वैशाख २८ गते साँझ कोहलपुरमा बसेका थिए । उनीहरु वैशाख २९ गते काठमाडौं गएका थिए ।









प्रतिक्रिया दिनुहोस्