काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले कालापानी भू–भागमा सडक खनेको विषयमा आफुलाई जानकारी नभएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईप्रति आपत्ति जनाएका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रतिपक्ष दल कांग्रेसकी सचेतक अनिता देवकोटाले नेपाली भू–भाग कालापानीमा भारतले सडक खनेको विषयमा आफुलाई जानकारी नभएको भन्ने प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै सरकारको धारणा माग गरेकी छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा कालापानीमा भारतले सडक खनेकोबारे आफुलाई कसैले जानकारी नदिएको कुरा सार्वजनिक भएको थियो ।
बैठकमा सांसद इन्दु कडरियाले नेपाल भारत सिमा क्षेत्रमा काँडेतार वा पर्खाल लगाउनुपर्ने धारणा राखिन ।
सांसद उदया शर्मा पौडेलले भारतसंगको सिमानामा काँडेतार लगाउन यही आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न सरकारसंग माग गरिन ।
सांसद कोमल वलीले खुला सिमाना हुँदै भारतबाट नेपाल प्रवेश गर्ने बढेसंगै कोरोना संक्रमितको संख्या बढेको भन्दै सीमा क्षेत्रमा कडाई गर्न र उचित प्रबन्ध मिलाएर सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउन माग गरिन ।
सांसद तारादेवी भट्टले कोरोना महामारीका कारण खाडी मुलुकहरुमा समस्यामा परेको नेपालीलाई स्वदेश फर्काउन सरकारसंग माग गरिन ।









प्रतिक्रिया दिनुहोस्