Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


टेलिकमको आम्दानी घट्यो


0
Shares

काठमाडौं, वैशाख ३० । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको आम्दानी घटेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा साढे २७ अर्ब कुल सेवावापतको आय गरेको टेलिकमले यो वर्ष जम्मा पौने २७ अर्ब रुपैयाँ बराबरमात्र आम्दानी गर्न सफल भएको छ ।

यस अवधिमा टेलिकमले २६ अर्ब ८३ करोड आम्दानी गरेको जनाएको हो ।

२०७५ चैत १ गतेदेखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा ‘कमिसन’को सट्टा ‘डिस्काउन्ट’ गणना गर्न सुरु गरेकाले पनि गणनामा प्रभाव परेको कम्पनीले जनाएको छ ।

यसैगरी, ‘लकडाउन’का कारण चैत महिनाको राजस्वमा नकारात्मक असर परेको एवं लकडाउनको अवधिमा कम्पनीले ‘टपअप’मा प्रदान गरेको शतप्रतिशतसम्मको बोनसलगायतका कारणले पनि आम्दानीमा असर परेको कम्पनीले जनाएको छ ।

यसबाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड रुपैयाँ योगदान गरेको थियो ।

यसका अतिरिक्त विदेशी विनिमयदरमा भएको वृद्धि तथा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम् ज्यालादरमा भएको वृद्धि, ‘फोरजी’ विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गइ मुनाफामा असर परेको कम्पनीले जनाएको छ ।