उपत्यकासहित देशभरका नेवार समुदायले आज घण्टाकर्ण पर्व मनाउँदै « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


उपत्यकासहित देशभरका नेवार समुदायले आज घण्टाकर्ण पर्व मनाउँदै


91
Shares

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले आज मंगलबार घण्टाकर्ण पर्व मनाउँदैछन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् ।

हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकामा मनाइने विभिन्न जात्रापर्व मध्ये गठांमुगः चःह्रे विशेष मानिन्छ । ठाउँ अनुसार यो पर्व फरक–फरक रुपमा मनाउने गरिन्छ । काठमाडौंमा ‘अजा सहयोग गर्नुहोस्’ भनी माग्न पठाउने चलन छ । ललितपुरमा भने छ्वालीको धुँवाले घर सेकेर चःह्रे पर्व मनाइन्छ ।

भक्तपुरमा मनाइने चःह्रेको छुट्टै आकर्षण छ । त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी तीनखुट्टे, गठांमुगः को पुत्ला बनाइन्छ । टोलटोलमा अघिल्लो दिन साँझ नै नर्कटमा छ्वाली बेरेको मानवरुपी गठांमुगःको पुत्ला बनाइ हाँडीमा नाक, मुख र कान बनाइन्छ ।

टोलटोलमा बनाइएको गठांमुगःलाई टोलबासी मिलेर नजिकको दोबाटोमा लगेर जलाइन्छ । चोक दोबाटोमा बसेर बालबालिका चोर्ने र मारेर खाने घण्टाकर्णलाई टोलबासी मिलेर मारी दाहसंस्कार गरेको पर्वका रुपमा गठांमुगः चःह्रे मनाइँदै आएको छ ।

यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् ।

विशेषगरी किसानले वैशाख मीहनामा पर्ने अक्षय तृतीयाका दिन रोपाइँलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूतप्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वको रूपमा समेत लिइन्छ ।