Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


विश्वकै दोस्रो अग्लो बन्जीमा नेपालकै अग्लो लिङ्गेपिङ पनि सञ्चालन


0
Shares

पर्वत । साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा फेरि अर्को साहसिक खेल सञ्चालनमा आएको छ ।

कुश्माबजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठेपिङ सञ्चालनमा आएको हो ।

दशैँ–तिहारमा बाँस गाडेर बनाइने पिङ लिङ्गेपिङजस्तै जमीनबाट १२ मिटर उचाइका फलामे स्तम्भमा पिङ बनाइएको हो ।

कालीगण्डकीमाथि निर्माण भएको बन्जीपुल २२८ मिटर अग्लो छ भने लिङ्गेपिङ पुलबाट २० मिटरसम्म जान सकिने भएकाले उचाइसहित २४८ मिटर अग्लो छ ।

विश्वमा सबैभन्दा अग्लो लिङ्गेपिङ चीनमा छ । उक्त पिङ जमीनबाट २५ मिटर अग्लो छ ।

तर जमीनमा २५ मिटर भए पनि कालीगण्डकीको खोँचभन्दा माथिसम्म पिङमा मच्चिन सकिने भएकाले पिङ खेल्दा २५० मिटरबाट जमीनलाई तल देख्न सकिने बन्जीजम्प सञ्चालन गर्ने कम्पनी द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार यो पिङमा बन्जीजम्पमा प्रयोग हुने डोरी प्रयोग गरिएको छ भने सुरक्षाका सबै मापदण्ड पूरा गरिएको छ ।

अन्य लिङ्गेपिङमा मानिसले नै मच्चाइदिने र खेल्ने मानिस नै मच्चिनुपर्ने हुन्छ ।

यसमा विन्च मेसिनले नै मानिसलाई जमीनभन्दा धेरै माथि लगेर छाडिदिने भएकाले बढी रोमाञ्चक र धेरै उचाइमा जान सक्छन् ।

“नेपालका लागि यति धेरै उचाइमा लिङ्पिङको सुविधा दिएर थप साहसिक खेलको शुरुआत गरेका हौँ”, उनले भने, “नेपालमा यस्तो प्रविधिमा सञ्चालित पिङ पहिलो हो भन्दा हुन्छ ।”

कुश्माकै बन्जी नजिक यसअघि सञ्चालित पिङमा आन्तरिक पर्यटकको ठूलो आकर्षण देखिएको थियो ।

अहिले पनि उक्त पुलमा खेल्ने र सामाजिक सञ्जालमा राख्नेहरु धेरै इच्छुक देखिएका छन् ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बन्जीमा व्यावसायिकरूपमा सञ्चालन गर्न शुरु गरेको बेला लकडाउन शुरु भएकाले प्रभावित भएको छ । रासस

Skip This