कास्की । कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिइए पनि पोखराका बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ ।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सोमबार पोखरामा गरेको अनुगमनका क्रममा अधिकांश बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र तथा सहकारीहरुबाट पूर्वसावधानी तथा नियन्त्रणका उपाय अवलम्बन गरेको नपाइएकाले पुनः सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न/गराउनका लागि सचेत गराइएको छ ।
जिल्ला प्रशासनले सूचना जारी गरी अब उप्रान्त अनिवार्यरूपमा मापदण्डको पालना गर्न आग्रह गर्दैै अन्यथा सिसीएमसी, सुरक्षा निकायका प्रतिनिधि वा जिल्ला प्रशासनका अधिकृतसहितको अनुगमन टोलीले सेवा वा व्यवसाय बन्द गराई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।रासस










प्रतिक्रिया दिनुहोस्