
कैलाली । सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेको छाउपडी प्रथा र छुवाछुतका लागि धनगढीमा धामी झाँक्री सम्मेलन आयोजना गरिएको छ । सुदूरपश्चिमका ३ जिल्ला र मुगुबाट आएका गरी ३५ जना धामी झाँक्री तथा स्थानीय तहका उप प्रमुखको सहभागितामा सम्मेलन सुरु छ । सम्मेलनले देवी देउताका नाममा हुने छुवाछुत अन्त्य गर्ने विश्वास लिइएको छ । सम्मेलनबाट सन्देश गाउँगाउँसम्म पुर्याउने अठोट उनीहरुको छ ।
देवी देउता रिसाउने नाममा सुदूरपश्चिम तथा कर्णाली भेगमा छाउपडी प्रथा अहिले पनि कायमै छ । बिगतको तुलनामा केही मत्थर भएपनि यो प्रथा पूर्णत उन्मुलन हुन सकेको छैन । महिनावारी भएका बेला छाउ गोठमा राख्ने परम्पराकै कारण कयौँ महिला बलात्कृत हुनु परेको छ । थुप्रैले सर्पको टोकाइबाटै ज्यान गुमाउने गरेको तथ्यांक छ । रुढिवादी परम्पराका कारण अझै छाउपडी प्रथा उन्मुलन हुन नसकेपछि डोटी, अछाम, बाजुरा र मुगुका धामी झाँक्रीहरुको सहभागितामा सम्मेलन सुरु भएको छ ।
गुड नेबर्स नेपालको आयोजनामा भएको सम्मेलनमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले समाजमा रहेको रुढीबादी परम्पराको अन्त्य नभएसम्म छाउप्रथामा परिर्वतन नहुने बताउनुभयो । उहाँले छाउप्रथा अन्त्यका लागि प्रदेश सरकार गम्भिर रहेको बताउनुभयो ।
सहभागी धामी झाँक्रीहरुले सम्मेलनबाट ठूलो पाठ सिक्ने अपेक्षा राखेका छन् । बिगतको तुलनामा छाउपडी प्रथामा केही कमी आएपनि हालसम्म निर्मुल हुन नसकेको धामी झाँक्रीहरुको विश्लेषण छ । देवी देवता रिसाउने भन्दापनि मानिसले बनाएको परम्परा तोड्ने काममा लाग्नुपर्ने उनीहरु बताउछन् ।
नौलो खाले यस सम्मेलनले अगुवा धामी झाँक्रीहरुमार्फत सचेतना जगाउने अपेक्षा लिइएको छ । धामी, पण्डितजस्ता लोकले विश्वास गर्ने समुदायमार्फत फैल्याइने चेतनाले सकारात्मक सन्देश प्रवाह गर्ने स्थानीय समाजशास्त्रीहरुको मत छ ।
प्रतिक्रिया दिनुहोस्