
काठमाडौं । नेकपा (माओवदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणमा कांग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयालाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताउनुभएको छ ।
शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उहाँले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताउनुभएको हो ।
उहाँले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुने नसक्ने कुरालाई प्रचार गरिएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले झुटो कुरालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गरिएको बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले तथ्यहीन र षड्यन्त्रमुलक प्रचारबाजीबाट सबै शतर्क हुन आवश्यक रहेको पनि बताउनुभयो । अध्यक्ष दाहालले तत्कालीन सत्ता गठबन्धन चुनावसम्म रहनेमा शंका नगर्न आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताउनुभयो । उहाँले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको बताउनुभयो । अध्यक्ष दाहालले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निस्कर्षमा पुग्ने घोषणा गर्नुभयो ।
अध्यक्ष दाहालले वामपन्थी एकता लगायतको विषयमा गठबन्धन भित्र रहेका दलहरुसँग समेत छलफल भइरहेको बताउनुभयो । दाहालले दिल्लीमा काग्रेस नेतृ आरजु देउवा र आफूबीचमा कुनैपनि प्रकारको सम्झौता नभएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्