Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सीमा अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने सत्तारुढ दलका सांसदहरुको माग


0
Shares

काठमाडौं, वैशाख २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले भारतले गरेको सीमा अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद घनश्याम खतिवडा र गंगा चौधरी सत्गौवालगायतले भारतले गरेको सीमा अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका हुन् ।

सांसद गणेशकुमार पहाडीले भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राजनीतिक र प्रशासनिक भूमिका हुनुपर्ने बताए ।

सांसद गणेशसिंह ठगुन्नाले सीमा विवाद समस्या समाधानको लागि भारतसँग उच्चस्तरीय वार्ता गर्न सरकारसँग माग गरे ।

सांसद जिपछिरिङ लामाले नेताहरुले चाकरी गरेकै कारण विदेशीहरुले हेपेको आरोप लगाए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले जनताको दुःखलाई ध्यान नदिएको भन्दै व्यंग्यात्मक बालकवितामार्फत् सरकारको आलोचना गरे ।

सांसदहरु अभिषेकप्रताप साह, अमरेशकुमार सिंह, अमृतादेवी अग्रहरी, चन्दा चौधरी र उमा रेग्मीलगायतले कोरोना संक्रमणबाट जोखिममा रहेका र भारतसँगको सिमानामा अलपत्र परेका नेपाली नागरिकलाई आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर स्वदेश फर्काउन माग गरे ।

सत्तारुढ दलका सांसद गजेन्द्र महतले ‘लकडाउन’ले प्रमुख जिल्ला अधिकारीहरुलाई ‘छोटे राजा’ बनाएको आरोप लगाए ।

सांसद खेमप्रसाद लोहनीले खुला सिमानाका कारण कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सीमानाकामा कडाइ गर्न माग गरे ।

सांसद उमाकान्त चौधरीले सरकारले विवादित दुई अध्यादेश किन ल्यायो र किन फिर्ता गर्‍यो ? सदनलाई जानकारी दिन माग गरे ।