
काठमाडौं । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ । नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो ।
‘राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ । केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको हो’, अनुसन्धान विभागका एक अधिकारीले भने ।
ती अधिकारीका अनुसार दुई महिनायता सो मेसिन सक्रिय छ । भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउनेजाने गरेकाले पनि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ सुरु गरिएको स्रोतले जनाएको छ ।
फोन ट्यापिङसम्बन्धी कानुन नबनेको अवस्थामा विभागले यसलाई औपचारिक रूपमा प्रयोग गर्न भने पाएको छैन । बेलाबखत भने यो मेसिन प्रयोग गरिँदै आएको स्रोतको दाबी छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्