टिबिएम नल्याउँदा सुरुङ खन्ने काम प्रभावित « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


टिबिएम नल्याउँदा सुरुङ खन्ने काम प्रभावित


793
Shares

काठमाडौं । चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले तोकिएको समयभित्रै टनेल बोरिङ मेसिन (टिबिएम) ल्याउन नसक्दा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम प्रभावित भएको छ । निर्माण व्यवसायी र आपूर्तिकर्ता विदेशी कम्पनीबीचको सम्झौता अनुसार खरिद आदेश भएको १५ महिनाभित्र उक्त मेसिन आपूर्ति गर्ने व्यवस्था रहेको थियो ।

आयोजना र सुरुङ खन्ने ठेकेदार कम्पनीबीच २०१९ को मेमा ठेक्का सम्झौता भएको थियो। विदेशी कम्पनीले समयमै टिबीएम मेसिन आपूर्ति गर्न नसक्दा सुनकोशी मरिन आयोजनाको सुरुङ खन्ने काम प्रभावित हुँदै आइरहेको छ । महालेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनले तोकिएको समयभित्रै आवश्यक डिजाइन नहुँदा पनि टिबिएम मेसिन ल्याउन ढिलासुस्ती भएको जनाएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी रवि शाक्यले ठेकेदार कम्पनीले तोकिएको समयसीमाभित्रै विदेशबाट सुरुङ खन्ने टिबिएम मेसिन भित्र्याउन नसक्दा सुरुङ खन्ने काम प्रभावित भएको बताए । ‘कोभिड १९को कारणले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै सुरुङ खन्ने टिबिएम मेसिन भित्राउन सकेनन,’ उनले भने-‘हालसालै सुरुङ खन्ने टिबिएम भित्रिएर अहिले मेसिन जडानको काम भइरहेको छ। सम्भवत् साउन र भदौं महिनाभित्रै मेसिन जडान गर्ने गरिसक्ने लक्ष्य राखेका छौं ।’

आयोजना र चिनियाँ ठेकेदार कम्पनीबीच मूल्यअभिवृद्धिकर भ्याटबाहेक १० अर्ब ५ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता १३.३ किलोमिटर लामो सुरुङ सन् २०२५ को अगष्ट अर्थात् ५२ महिनाभित्र निर्माण गर्ने सम्झौता भएको थियो । यो सुरुङमार्ग ६.४ व्यास मिटरमा खनिनेछ। ठेकेदार कम्पनीले सुरुङ खन्नका लागि आवश्यक पर्ने उपकरण र सामग्री समय भित्रै जडान गर्न नसक्दा तोकिएको समयभित्रै सुरुङ खन्ने काम सकिनेमा भने आशंका कायमै छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।