कञ्चनपुर । क्वारेन्टाइनको बसाइ पूरा भएर निकालिएका नेपालीहरुलाई भारतीय पक्षले पुनः क्वारेन्टाइनमै पठाएको छ ।
उत्तराखण्डको रुद्रपुर र काशीपुरमा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई त्यहाँको प्रशासनले १४ दिन क्वारेन्टाइनमा बसेको प्रमाणपत्र दिँदै स्वदेश फर्किन भनेको थियो ।
क्वारेन्टाइनबाट निकालेपछि ९० किलोमिटर हिँडेर पश्चिमी सीमानाकामा पुगेका उनीहरुलाई भारतीय पक्षले पुनः क्वारेन्टाइनमा पठाएको हो ।
झण्डै एक सय बढीको संख्यामा नाकामा पुगेका नेपालीलाई भारतीय सीमा सुरक्षा बलले हिजो नेपाल प्रवेश गर्न रोक लगाएको थियो ।
स्वदेश फर्किन नपाएपछि उनीहरु फर्किएर सीमावर्ती भारतीय बजार खटिमामा गएका थिए ।
यता लकडाउनका कारण सीमाक्षेत्रमा अलपत्र परेका नेपालीहरुको व्यवस्थापनको माग गर्दै भारतीय काँग्रेसका नेताहरुले दवाव दिएपछि भारतीय प्रशासनले उनीहरुलाई पुनः क्वारेन्टाइनमा पठाएको छ ।
उनीहरुमध्ये केहीलाई खटिमास्थित राहत शिविरमा राखिएको छ भने अन्यलाई जहाँबाट आएका हुन् त्यहीँको क्वारेन्टाइनमा पठाएको हो ।









प्रतिक्रिया दिनुहोस्