Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


काठमाडौं जाँदै गरेका ११ जना पाकिस्तानीलाई सिन्धुली प्रहरीले सुनसरी फर्कायो, दुतावासले बोलाएर जान लागेको दावी


0
Shares

सिन्धुली । सुनसरीबाट काठमाडौं जाँदै गरेका ११ जना पाकिस्तानी नागरिकहरुलाई प्रहरीले सिन्धुलीको वीपी राजमार्गस्थित नेपालथोकबाट सुनसरी नै फर्काएको छ ।

सुनसरीको क्वारेन्टाइनमा बस्दै आएका कोरोना नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएका पाकिस्तानीलाई पाकिस्तानी दुतावासले बोलाएपछि सुनसरी प्रशासनले काठमाडौं पठाएको थियो ।

एकै साथ ११ जना पाकिस्तानी सवार रहेको माइक्रो बसलाई नेपाल प्रहरीको उच्च निकायको आदेशमा नेपालथोकबाट पुनः सुनसरी नै फर्काइएको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।

पाकिस्तानीहरुलाई सार्वजनिक माइक्रो बसमा एक जना चालकले राजधानी काठमाडौं लैजाँदै गरेका थिए ।

उक्त माइक्रो बस सिन्धुलीको वीपी राजमार्गस्थित चुरे वन, सिन्धुलीगढी र सुनकोसीगाउँ पालिकाको चैनपुर जस्ता सार्वजनिक स्थानमा रोकेर यात्रा गराएको जनाइएको छ ।