दीपेन्द्र अधिकारी र सुयेश मानन्धर (इमेज)
काठमाडौं, वैशाख २७ । गत कात्तिकमा नेपालको लिपुलेक क्षेत्रलाई गाभेर आफ्नो नक्सा प्रकाशित गरेको भारतले सोही क्षेत्र हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएपछि नेपाल–भारत सीमा विवाद तेस्रो चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ ।
दुवै देशले विवादित क्षेत्र मानेको भूमिमा एकलौटी झन्डै १०० किलोमिटर सडक बनाउनु भारतको बलमिच्याइँ त हुँदै हो, नेपालको कूटनीतिक शिथिलता पनि भएको सरोकारलावाहरुको भनाइ छ ।
दार्चुलाको लिपुलेक क्षेत्र हुँदै निर्माण गरेको सडक यही वैशाख २६ गते भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको खबर सार्वजनिक भएपछि नेपालमा फेरि सीमा अतिक्रमणको विषय चर्केको छ ।
गत कात्तिकमा सोही क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेपछि केही समय सो विषय चर्किएको थियो । तर, यसपटक भारतले एकलौटीरुपमा सडक नै बनाएर नेपाललाई चुनौती पनि दिएको छ ।
योसँगै भारतले नेपालको सीमा मिच्नेक्रम तेस्रो चरणमा प्रवेश गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठको ठहर छ ।
सन् २०१५ मे १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला भारत र चीनबीच च्याङ्ला/लिपुलेक नाकाबाट ‘सीमा व्यापार’ अघि बढाउने सहमति भएको थियो ।
त्यस्तै, सन् २०२० नोभेम्बर २ मा लिम्पियाधुरा र लिपुलेक क्षेत्र भारतमा राख्दै नयाँ नक्सा सार्वजनिक गर्यो ।
सो भू–भाग आफ्नो भएको दाबी नेपाल सरकारले बारम्बार गरिरहेको छ । जसका कारण भारतले पनि सो क्षेत्रलाई विवादित भूमि मान्दै आएको थियो ।
विवाद टुंगिन नपाउँदै भारतले लिपुलेकसम्मको सडक बनाएर उद्घाटन गरेको हो ।
कुती, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । हाल ती ठाउँमा भारतीय सुरक्षा फौज रहेका छन् ।
व्यास र गुन्जी हुँदै लिपुलेकसम्मको सडकमार्ग खोलिनुमा चीन र भारतको व्यापारिक स्वार्थ रहेको देखिन्छ ।
श्रेष्ठकाअनुसार हाल ७१ ठाउँमा ६०६ वर्गकिमि क्षेत्र भारतीय पक्षले हडपेको छ ।
सार्वभौमसत्तासम्पन्न राष्ट्र भएर पनि अतिक्रमणविरुद्ध आवाज उठाउन नसक्नु र दिन प्रतिदिन कूटनीतिकरुपमा शिथिल हुँदै गएका कारण देशको सीमा मिचिनेक्रम बढेको जानकारहरु बताउँछन् ।
छिमेकीले हडपेको क्षेत्र फिर्ता गर्न सक्षम कूटनीति आवश्यक पर्ने भन्दै श्रेष्ठ कूटनीतिक माध्यमबाट सफल नभए अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने बताउँछन् ।
भारतीय पक्षबाट नेपालको सीमा मिच्नेक्रम निरन्तर भइरहेको छ । सीमा मिचिएको खबर आउनेबित्तिकै राष्ट्रवादको नारा उराल्ने र केही समयपछि देखेको नदेख्यै गर्ने प्रवृत्ति नेपालका सत्ताधारीहरुमा रहँदै आएको छ ।
कूटनीति क्षमताबाट सीमा विवाद नटुंग्याउने हो भने यस्ता समस्याले दीर्घ रोगको रुप लिनेछन् ।









प्रतिक्रिया दिनुहोस्